काठमाडौं । बीमा क्षेत्रको मर्जर अभियानले आर्थिक स्थायित्वलाई सहयोग पुग्ने दावी बीमा समितिका अध्यक्ष सूर्य सिलवालले गरेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भका क्रममा उनले बीमा कम्पनीहरुलाई मर्जरको विकल्प नरहेको बताएका हुन् । बीमा क्षेत्रको मर्जर सिधै आर्थिक स्थायित्वसँग जोडिने सिलवालको भनाई छ । उनले भने, अहिले त म आफैलाई निकै गौरव महशुस भएको छ । मर्जरमा जानुपर्छ भनेर बीमा समितिले नीति बनाएको हो । त्यसलाई कम्पनीहरुले सम्भव छ भन्ने देखाउँदै पूरा गरेको अवस्था छ । सिलवालले आफूले बीमाको प्राविधिक कुराहरु नबुझ्ने तर समग्रमा देशको अर्थतन्त्र राम्रो हुनुपर्छ भन्ने कुरा चाहीं बुझेको बताए । आफूले विभिन्न मन्त्रालयमा ३१ वर्ष काम गरेको अनुभव सुनाउँदै उनले अब बीमा क्षेत्रलाई सुधारेर योगदान पुर्याउने बताए ।
अध्यक्ष सिलवाललले मर्जरमा बीमा कम्पनीहरुलाई लग्नुको कारण समेत खुलाउँदै आफू समितिमा आएदेखि नै कम्पनीहरुको संख्या धेरै भयो भन्ने गुनासो सुनेको बताए । एउटै भाँडाको व्यवसाय कम्पनीहरुले खोसेर खानुपर्ने अवस्था रहेको र खोसाखोस गर्नुभन्दा पनि बलियो गराउन केन्द्रित भएको उनले बताए । सिलवालले थपे, अब त चुक्ता पुँजी धेरै भएपछि बीमा कम्पनीहरुले पनि ठूला ठूला जोखिम लिन सक्छन् । चैत ११ गतेसम्म बीमा कम्पनीहरु आफै मर्जर भएर आउँछन् । त्यतिबेला पनि कम्पनीहरुले चासो देखाएनन् भने हामीले मर्जरलाई बाध्यकारी बनाउँछौ । अझै पनि बीमा कम्पनीहरुले व्यवसाय गर्ने ठाउँ प्रशस्त रहेको सिलवालले बताए । उनले काठमाडौंमा निर्जीवन बीमा जम्मा १२ प्रतिशतका हाराहारीमा भएको र यो निकै न्यून मात्रै नभएर दुखदायी कुरा पनि हो भन्दै अहिले स्थानीय निकायमा पनि पैसा धेरै रहेको र त्यहाँ बीमाको आवश्यकता रहेकाले कम्पनीहरुले आफ्नो व्यवसायलाई विविधिकरण गर्नुपर्ने बताए ।
सरकारले विगतमा बीमा नबुझेकाले जनतालाई गाह्रो भएको र अब त्यस्तो अवस्था पनि बिस्तारै बदलिने क्रममा रहेको सिलवालको बुझाई छ । उनले भने, पहिले त सरकारले सिधै पैसा नदिने बीमा हो भनेर मात्र चिन्थ्यो । तर, अहिले राष्ट्रिय बीमा नीति तयार गर्ने अवस्थासम्म सरकार पनि पुग्या छ । आवश्यक परेको ठाउँमा सघाउन बीमा समिति पनि तयार छ । हामीले जम्मा चार वटा आधारमा नियमन गर्ने हो । नियमनको क्रममा कम्पनीलाई विकसित गर्ने, व्यवस्थित गर्ने, नियमित गर्ने र नियन्त्रण गर्ने हो । हिमालयन जरनल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबारका क्रममा जीवन बीमक संघ, निर्जीवन बीमक संघ तथा बीमा क्षेत्रका अन्य अगुवाहरुको उपस्थिति थियो ।