काठमाडौं । अर्थमन्त्रालयको नेतृत्व डा. युवराज खतिवडाले सम्हालेसम्म सुस्ताएको शेयर बेजार विष्णु पौडेलको आगमनसँगै निकै फस्टाएको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको शेयर धितो कर्जाको नीति ‘पुनराबलोकन’प्रति चासो दिँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई शेयर धितो कर्जाको नीति परिवर्तन र यसले दीर्घकालमा पार्न सक्ने असरलाई ध्यानमा राखेर मात्र नीति पुनरावलोकन गर्न आग्रह गरेपछि दुई दिनदेखि सुस्ताएको शेयर बजार केही उकालो लागेको हो । राष्ट्र बैंकले गत बिहीबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो तीन महिनाको समिक्षा गर्दै शेयर धितो कर्जामा कडाइ गर्ने संकेत दिएपछि पहिलो पटक हिजो आइतबार खुलेको दिन १२३ अकंले नेप्से घट्न पुगेको थियो ।
अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीलाई तत्काल नीति परिवर्तन नर्गन आग्रह गरेको सुइँको बजारमा आएपछि आज सोमबार पुनः ७२.२८ अंकले बढ्न पुगेको छ । नेप्से २००४.३९ अंकमा पुगेको छ । केन्द्रीय बैंकले गरेको मौद्रिक नीतिको समीक्षापछि आइतबार एक्कासी उच्च अंकले नेप्से घटेपछि अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीसँग चासो राख्दै सोधपुछ गरेका थिए ।