free website hit counter

आधा दर्जन सचिव सरुवामा मन्त्री बेखबर, सचिवालय हावी

beemaadmin
२०७६ फाल्गुन १९, सोमबार

काठमाडौं । प्रत्येक सोमबार नियमित बस्दै आएको मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना हुने कार्यसूचि रहेपछि आइतबार साँझ बस्यो । आइतबार आकस्मिक रुपमा बसेको बैठकले नियमित निर्णयका अलावा आधा दर्जन मन्त्रालय र निकायहरुका सचिवहरुको अन्तर मन्त्रालय र निकायमा सरुवा गर्नुका साथै एकजना सहसचिवलाई कामु सचिवमा बढुवा गरिएको छ । गृह मन्त्रालयमा सरुवा हुन कम्मर कसेर लागेका संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइराला आफ्नो इच्छा बमोजिम सरुवा हुन नपाएपछि विभिन्न शक्ति केन्द्र धाएर आकर्षक मन्त्रालयमा जान दौडधूप गरिरहेका थिए । त्यसैको प्रतिफलस्वरुप उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेका छन् । दिउँसो १०० दिने कार्यक्रमको समिक्षा तथा जानकारी कार्यक्रममा विभागीय मन्त्रीको प्रसंसा गरेका स्वास्थ्य सचिव खगराज बराल भने अनुमानविपरित उपराष्ट्रपति कार्यालय पुगेका छन् ।

बराल यसअघि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा कार्यरत थिए । शिक्षा समूहबाट सचिव भएका बराल स्वास्थ्यमा आएको करिब एक वर्ष हुन लागेको थियो । उनी आफू केही समय अझै स्वास्थ्यमै रहने कुरामा ढुक्कै थिए भने मन्त्री र सचिवबीचको सम्बन्ध पनि राम्रै थियो । मन्त्रीलाई सहयोग गरिरहेका बराल अकस्मात सबैभन्दा कमजोर मानिएको उपराष्ट्रपति कार्यालयमा पुर्याइनुलाई भने सत्तानिकट कर्मचारीहरु पनि छक्क परेका छन् । स्वास्थ्यमा पुगेका कोइराला र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीबीच भने शुरुदेखिनै सम्बन्ध सुमधुर हुन सकेको थिएन । सम्बध सुमधुर नहुँदा पनि कार्यगत एकता गरेरै हिँडेका दुवैको सम्बन्धलाई चिढ्याउने काम मन्त्रालयकै केही सहसचिवहरुले गरेका थिए । बीचमा गृह जालान् र अर्को सचिव ल्याउला भन्दै मन्त्री त्रिपाठीको चाहना गृहमा अर्कै सचिव गएपछि तुहिएको थियो भने कोइराला पनि त्यसपछि अन्य आकर्षक निकाय जानका लागि दौडधूप शुरु गरेका थिए । उनी उद्योग बाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, पर्यटन तथा नागरिक उड्डयन लगायतका मन्त्रालय उनको रोजाईमा परे पनि उनी स्वास्थ्यमा जान सफल भएका छन् । सामान्य प्रशासनमा भने भूमिसुधार तथा गरिबी निवारण मन्त्रालयका सूर्य गौतम पुगेकाछन् ।

गौतम यसअघि पनि गृहसचिव बन्ने चर्चामा थिए । संखुवासभा निवासी गौतम पूर्व गृहसचिव प्रेम राईका विश्वासिला मात्रै होइनन् जिल्लावासी समेत हुन् । उनी सामान्यमा पुग्नुमा पूर्व सचिव राईको सत्ता निकट सम्बन्धले पनि बल पुगेको बताइन्छ । गौतम भूमिसुधारमा जानुअघि महालेखा नियन्त्रकमा कार्यरत थिए । शिक्षा समूहका गौतम कर्मचारीको तालुकदार मन्त्रालयमा पुगेर कर्मचारी प्रशासनलाई कसरी सञ्चालन गर्छन् भन्ने चासो पनि उत्पन्न भएको छ । यसैगरी उद्योग मन्त्रालयमा करिब ३ वर्ष बिताएकी सचिव यमकुमारी खतिवडा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएकी छिन् । उनी पछिल्लो समय उद्योग छाड्ने सोचाई बनाएपछि मन्त्री लेखराज भट्टले आफू अनुकुलको सचिव ल्याउन लबिङ थालेका थिए । त्यहाँ अहिले महिला, बालबालिबा तथा जेष्ठ मन्त्रालयका चन्द्र घिमिरेलाई लगिएको छ । भावी मुख्यसचिवका दाबेदार मानिएका घिमिरे यसअघि बाणिज्य मन्त्रालयमा कार्यरत थिए । त्यस्तै काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदार न्यौपानेलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ । प्रदेश नं. १ को प्रमुख सचिव हुँदै काठमार्डौं महानगरपालिका छिरेका न्यौपाने महानगरमा पछिल्लो समय मेयर विद्यासुन्दर शाक्यसँगको खटपटका कारण उनलाई त्यहाँबाट हटाएको बताइन्छ ।

सुस्त गतिका मेयर शाक्यसँग गति नमिलेपछि न्यौपाने पछिल्लो समय कार्यालयमा एक घण्टा पनि अडिँदैनथे । त्यहाँ अहिले सहसचिव एकनारायण अर्याललाई बढुवा गरेर पदस्थापना गरिएको छ । अर्याल भारतको कोलकता महाबाणिज्य दूतमा कार्यरत थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सञ्चारमन्त्री हुँदा सञ्चार मन्त्रालयमा रहेर मन्त्रीलाई सहयोग गरेका अर्याल त्यही बेला महाबाणिज्य दूत बन्न सफल भएका थिए । सञ्चार जानुअघि अर्याल गृह मन्त्रालयमा थिए । त्यस्तै रिक्त राजश्व सचिवमा सहसचिव रामशरण पुडासैनीलाई कामु सचिवमा बढुवा गर्दै जिम्मेवारी तोकिएको छ । सचिव सरुवामा यस पटक पनि प्रधानमन्त्री कार्यालयको सचिवालय र पूर्व सचिव प्रेम राई लगायत सत्ता निकट प्रशासकहरुको बोलबाला रहँदा मन्त्रीले रुचाएका सचिवहरु रोक्न सकेनन् भने चाहेका सचिव ल्याउन पाएनन् । भर्खरै १०० दिने कार्यकाल पूरा गरेका महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकमा सचिवको एजेन्डा आएपछि मात्रै आफ्नो मन्त्रालयमा सचिव परिवर्तन भएको छनक पाएका थिए । अन्य मन्त्रीहरुले पनि आफूले सोचेको सचिव ल्याउन नपाउँदा बैठकमा भित्रभित्रै असन्तुष्टी जनाए पनि प्रधामन्त्री केपी शर्मा ओलीसमक्ष भने कुनै असन्तुष्टि जाहेर गर्ने हिम्मत कसैले गरेनन् ।

सम्बन्धित समाचार

बीमा व्यवसायमा अभिकर्ताको सान्दर्भिकता

beemaadmin
२०८० चैत्र १६, शुक्रबार

पाँचजना पूर्वसीईओहरु सम्मानित

beemaadmin
२०८० चैत्र १६, शुक्रबार

निफ्राले खोल्यो सीईओको दरखास्त

beemaadmin
२०८० चैत्र १६, शुक्रबार