काठमाडौँ । महानगरीय प्रहरी प्रभाग लुभुका प्रमुख प्रहरी नायब निरीक्षक (सई) टेकबहादुर माझीको मृत्यु भएको छ । दुई महिनाअघि मात्र लुभुमा इञ्चार्जका रुपमा माझीलाई जिम्मेवारी दिइएको थियो । शुक्रबार अपरान्ह कार्यकक्षमै बेहोस भेटिएका माझीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले सई माझीको अल्का–२ मा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे ।
गम्भीर अवस्थामा अस्पताल लगिएका माझी कार्यक्षेत्रमै खटिएको समयमा लडेको एसएसपी राईले बताए । कार्यकक्षमै ढलेर रगत भोमिट गरेका सई माझीलाई तत्कालै पाटन अस्पताल लगिएको थियो । टाउकोमा रगत जमेको पत्ता लागेपछि उनको शुक्रबार रातिनै पाटन अस्पतालबाट अल्का अस्पताल रिफर गरिएको एसएसपी राईले बताए । शल्यक्रियापश्चात पनि उनलाई बचाउन नसकिएको प्रहरीको भनाइ छ । रामेछाप घर भएका खटिएका माझी संगठनमा इमान्दार र क्षमतावान प्रहरीको रुपमा चिनिन्थे ।