free website hit counter

किन बढ्दैछ फेरि सुनको मूल्य

beemaadmin
२०८१ पुष २७, शनिबार

काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ । सोहि क्रममा यो साता पनि सुनको मूल्य वृद्धि भएको छ । साताभरमा सुन तोलामा नै २ हजार १०० रुपैयाँले महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघको तथ्यांक अनुसार साताको पहिलो दिन सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसपछि लगातार दुई दिन सुनको मूल्य स्थिर रहेको थियो । यसरी, आइतबार, सोमबार र मंगलबार सुन एकै मूल्यमा खरिदबिक्री भएको थियो । तर त्यसपछि भने बुधबार, बिहीबार र शुक्रबार भने सुन लगातार बढिरह्यो । बुधबार सुन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो भने बिहीबार तोलाको एक लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, शुक्रबार भने सुनको भाउ थप महंगिएर एक लाख ५४ हजार १०० रुपैयाँ पुग्यो । अघिल्लो साता पनि सुनको भाउ उकालो लागेको थियो । गत साता सुन तोलामा नै तीन हजार ३०० रुपैयाँले महँगिएको थियो। गत शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार ५०० रूपैयाँ पुगेको थियो । चाँदीको मूल्य पनि यस साता बढेको छ । पुष २१ गतेदेखि पुस २६ गतेसम्म चाँदी तोलामा ३५ रुपैयाँले उकालो लागेको हो । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँ तोकिएको थियो जुन शुक्रबारसम्ममा बढेर एक हजार ८४५ रुपैयाँ पुग्यो । साताको दुई दिन भने चाँदीको मूल्य स्थिर रहेको थियो ।
ट्रम्पको शपथ ग्रहणलाई लिएर विश्व सुन बजारमा अनिश्चितता
विश्व बजारमा शुक्रबार सुनको भाउ बढोत्तरी भयो । यस दिन सुन प्रतिऔंस १० डलरभन्दा बढीले महंगिएर २ हजार ६८२ डलर बराबर पुग्यो । विश्व बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको छ । यसरी, नेपाली बजारमा सुनको भाउ बढिरहेको बताइएको छ । अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार आज डलर सामान्य रूपमा बलियो भएका कारण सुनको वृद्धि भएको विश्लेषकहरुको भनाइ छ । डलर सूचक ०.१५ प्रतिशतले बढेर १०९.३०८को स्तरमा पुग्यो । सुरक्षित लगानीको माग बढेका कारण पनि सुनको मूल्य वृद्धि भएको हो । डलर बलियो हुँदा र उच्च व्याजदरबाट आएको नकरात्मक दबाबलाई सन्तुलित गरिरहेको छ । नवनिर्विचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणका विषयलाई लिएर भइरहेको अनिश्चितताले नै सुनको विश्व बजार नै प्रभावित भइरहेको विश्लेषकहरूको भनाइ छ । ट्रम्पले व्यापक कर लागू गर्न राष्ट्रिय आर्थिक आपतकाल घोषणा गर्ने विचार गरिरहेको खबर बाहिरिएका छन्। रोयटर्सका रिपोर्ट अनुसार ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दा यस्ता करहरूले सम्भावित रूपमा व्यापार युद्ध र मुद्रास्फीति निम्त्याउन सक्ने बताइएको छ । यस्तो अवस्थामा, सुनलाई परम्परागत रूपमा मुद्रास्फीति बचावको रूपमा हेरिन्छ र सुनले सामान्यतया राम्रो प्रदर्शन गर्ने विश्लेषकहरूको भनाइ छ।

सम्बन्धित समाचार