काठमाडौं । सरकारले गरेको प्रतिबद्धता अनुसार कृषि तथा पशुपंक्षी बीमाको अनुदानको बक्यौता भुक्तानी नहुँदा फेरि समस्या निम्तिएकोछ । कृषि तथा पशुपंक्षी मन्त्रालयले गत जेठ १७ गते बीमा कम्पनीहरुलाई तत्काल ९७ करोड रुपियाँ दिने प्रतिवद्धता गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरुले रोकिएको कृषि तथा पशुपंक्षी बीमाको कारोबार पनि सुचारु गरेका थिए । तर, मन्त्रालयले प्रतिवद्धता गरेको तीन साता बितिसक्दा पनि कम्पनीहरुले अनुदानवापतको रकम पाउन सकेका छैन । कृषि तथा पशुपंक्षी बीमा गर्दा लाग्ने शुल्कमा सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यसको प्रत्यक्ष फाइदा किसानलाई हुन्छ । सोहीअनुसार कम्पनीहरुले किसानसँग २० प्रतिशत शुल्क लिएर बीमा गर्ने गर्छन् । बाँकी ८० प्रतिशत शुल्क भने सरकारले अनुदानबापत दिनुपर्छ । तर, कम्पनीहरुले गत आवदेखिकै अनुदानवापतको रकम पाउन सकेका छैनन् । हालसम्म त्यसमा दुई अर्ब १७ करोड रुपियाँ भन्दा बढी बक्यौता छ ।
पटक पटक ताकेदा गर्दा पनि पैसा नआएपछि कम्पनीहरुले गत चैत १ गतेदेखि यसको कारोबार रोकेका थिए । त्यसपछि तत्काल मन्त्रालयले ४६ करोड रुपियाँ निकासा दिएको पनि थियो । तर, कम्पनीहरुले पूरै बक्यौता पाउनुपर्ने भन्दै यस्तो बीमाको कारोबार रोक्का नै राखे । त्यसपछि मन्त्रालयले जेठ १७ गते कम्पनीका प्रतिनिधिहरुलाई बोलाएर बीमाको कारोबार खुलाउन आग्रह गरेको थियो । साथै, तत्काल ९७ करोड रुपियाँ भुक्तानी दिने प्रतिवद्धता पनि दिएको थियो । यससम्बन्धी शीर्षकमा पैसा नभएकाले अन्य शीर्षकबाट रकमान्तर गरेर भुक्तानी दिन लागेको मन्त्रालयको भनाई छ । रकमान्तरका लागि अर्थ मन्त्रालयबाट स्वीकृत समेत आइसकको मन्त्रालयले बताएको थियो । तर, तीन साता बितिसक्दा पनि त्यस बापतको पैसा कम्पनीहरुले पाउन नसकेपछि कृषि तथा पशुपंक्षी बीमा पुनः प्रभावित हुने देखिएको छ ।