काठमाडौं । समग्र बीमा व्यवसायको विश्वसनीयतामाथि नै प्रश्न उठाउन पुगेको कोरोना बीमा दाबी भुक्तानी अझै लम्बिने संकेत देखिएकोछ । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दाबी भुक्तानी वापतको रकम निकासा हुन अझै ढिलाई हुने संकेत गरेका छन् । प्रतिस्थापन विद्येयकको बारेमा पत्रकार सम्मेलनमा उनले रकम निकासामा ढिलाई हुने संकेत गरेका हुन् । अर्थमन्त्री शर्माले कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकारमा ठुलो परेको बताए । सरकारको भागमा ११ अर्ब रुपैयाँ पुगिसकेको छ । अझै दैनिक दायित्व थपिने क्रम छ, उनले भने, एक दुई अर्ब रुपैयाँ भए हामी दिन्थ्यौ । अब एक दुई अर्ब रुपैयाँ पनि कसलाई दिने कसलाई नदिने भन्ने कुरा हुन्छ । त्यस विषयलाई गम्भिर रुपले लिएको बताउँदै उनले विस्तारै छलफल गरेर अघि बढ्ने बताए ।
कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरु, निर्जीवन बीमा, बीमा समिति र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेको छ । तर सरकारको दायित्वमा पर्ने रकम निकासामा भने अर्थमन्त्रालयले आलटाल गर्दै आईरहेको छ । अर्थमन्त्रालयले सरकारको दायित्वमा परेको रकम निकासा नगर्दा बर्षौदेखि बीमितहरुले दाबी वापतको रकम पाएका छैनन् ।