free website hit counter

जगेडामा ढुंगाना, मुद्दामा अल्झियो राजीनामा

beemaadmin
२०७६ कार्तिक ९, शनिबार

काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा शिशिर ढुंगाना सरुवा भएका छन् । यसअघि पनि राजश्व सचिव रहिसकेका ढुंगानालालाई पुनः राजश्व सचिवमा ल्याउनुमा अनुभव नै मुख्य कारण भएको बताइन्छ । राजश्व प्रशासनमा दख्खल राख्ने ढुंगाना यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए । अर्थ सचिव राजन खनाल केही समयपछि अवकाश हुने भएपछि सो पदमा ढुंगानालाई नै ल्याउनका लागि अहिले राजश्व सचिव बनाइएको सूत्रहरुको दाबी छ । राजश्व सचिव लालशंकर घिमिरेको अवकाशपछि रिक्त रहेको उक्त पदमा ढुंगानालाई ल्याइएको हो ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले राजीनामा दिएकी छिन् । सर्वोच्च अदालतको आदेशपछि सो पदमा कार्यरत चौधरीले विश्व स्वास्थ्य संगठनको कन्सल्टेन्टमा जागिर खाने प्रयोजनार्थ सो पदबाट राजीनामा दिएको बताइन्छ । स्वास्थ्यमा दुई जना सचिव कार्यरत थिए । दुई जना सचिव रहँदा सधैं प्रशासनिक कार्यमा खटपट देखिँदै आएको थियो । चौधरीले राजीनामा दिएपछि सो पद रिक्त राख्ने सरकारको तयारी रहेको बताइन्छ । सरकारसँगको मुद्दा विचाराधिन रहेकै कारण सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिएपछि मात्रै चौधरीको राजीनामा स्वीकृत गर्ने तयारी सरकारको रहेको छ ।

सचिवको राजीनामा स्वीकृत गर्ने अधिकार मन्त्रीपरिषद्लाई रहेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णय विरुद्ध चौधरी अदालत गएपछि अहिलेको सरकार सचिव चौधरीप्रति सकारात्मक छैन । चौधरीको राजीनामासँगै स्वास्थ्यका उच्च तहका अधिकारीहरु पनि खुशी छन् ।

सम्बन्धित समाचार