काठमाडौं । बीमा बजारको अपार सम्भावना रहेको नेपालमा पुनर्बिमा कम्पनीको पनि सम्भवाना देखिएकै कारण लगानीकर्ताहरु हौसिएका छन् । ठूला घराना वित्त क्षेत्रको राम्रो सम्भावना देखिएको पुनर्बिमा कम्पनीतर्फ आकर्षित भएका छन् ।
नेपालमा थप तीन नयाँ पुनर्बीमा कम्पनी संचालनमा ल्याउने तयारी भइरहेको छ । अन्नपुर्ण रि, प्रुडेन्सियल रि र अर्को नाम नखुलेको पुनर्बीमा कम्पनी संचालनमा ल्याउने तयारी भित्रभित्रै भइरहेको छ । अहिले नेपालमा एक मात्र नेपाल पुनर्बीमा कम्पनी संचालनमा रहेको छ । उक्त बीमा कम्पनीमा नेपाल सरकार, जीवन तथा निर्जीवन बीमा र विशाल ग्रुप लगायतको लगानी रहेको छ ।
यस्तै कम्पनीमा सर्वसाधारणको १ अर्ब ६० करोड रूपैयाँ लगानी रहेको छ । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो कार्यकालमा विभिन्न सार्वजनिक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीले अपेक्षाकृत रुपमा काम गर्न नसकेको भन्दै नयाँ पुर्नबीमा कम्पनीको आवश्यकतामा जोड दिँदै आएका थिए । उनको उक्त अभिव्यक्तिले गर्दा नेपालमा थप तीन पुनर्बीमा कम्पनी संचालन गर्न व्यवसायीहरुले तयारी थालेका हुन् ।
पहिलो पटक काठमाडौंको साकार ल फर्मले अन्नपुर्ण रि कम्पनी नामक कम्पनीको कार्ययोजना तयार पारेका थियो। अन्नपुर्ण रिले लगानी प्रस्ताव गर्दै सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा पत्र पठाएको थियो । केहीले लगानीका लागि प्रतिवद्धता समेत जनाइसकेको बताइएको छ ।
लगानी प्रस्तावमा ७५ प्रतिशत संस्थापको र २५ प्रतिशत सर्वसाधारणको लगानी हुने गरी चुक्ता पूँजी १० अर्ब रुपैयाँको कम्पनी प्रस्ताव गरिएको छ ।
जानकारीअनुसार, अन्नपुर्ण रि इन्स्योरेन्मा उपेन्द्र महतो र उनका भाइ बीरेन्द्र महतोलगायत व्यक्तिहरुको लगानी रहने छ । महतो परिवारको बैंकमा ठूलो लगानी छ । बैंकपछि महतो परिवार बीमा तर्फ लगानी गर्न लागेका हुन् । उपेन्द्र महतो एनआरएनएका संस्थापक अध्यक्ष हुन भने उनका भाइ वीरेन्द्र पूर्व सांसद हुन् ।
यस्तै एनआरएनएकै पूर्व अध्यक्ष रहेका शेष घलेलगायतको लगानीमा अर्को नयाँ प्रुडेन्सियल रि इन्स्योरेन्स कम्पनी संचालनमा ल्याउने तयारी भएको छ । उक्त कम्पनीमा घलेलगायत अन्य एनआरएनहरुको समेत लगानी हुनेछ । यस्तै, विशाल ग्रुप सहित नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललगायत अन्य व्यवसायीको उक्त कम्पनीमा लगानी रहनेछ । प्रुडेन्सिय रिइन्स्योरेन्समा संस्थापक शेयरधनीको रुपमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ ।
अर्को नाम नखुलेको रिइन्स्योरेन्स कम्पनी पनि स्थापनाको तयारी भइरहेको छ । त्यसमा शंकर ग्रुपका शाहिल अग्रवाल, अशोक खड्कालगायतको लगानी रहने स्रोतले जनाएको छ। यस कम्पनी स्थापनाका लागि बीमा समितिका पूर्व अध्यक्ष समेत रहेका फत्तबहादुर केसी सहयोग गरिरहेका छन् ।