काठमाडौं । ऐतिहासिक आइपीओ जारी गर्दै सबै आवेदकलाई शेयरधनी बनाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले तीन ठूला परियोजनामा ८ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । ती परियोजनाको कुल लागत भने ५० अर्ब ८७ करोड २८ लाख रुपैयाँ हुनेछ । निफ्राले न्यादी हाइड्रोपावरमा ४ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिरहेको छ । उक्त परियोजनाको अनुमानित कुल लागत ६ अर्ब २० लाख रुपैयाँ हो । परियोजनाको मुख्य प्रवद्र्धक न्यादी हाइड्रोपावर लिमिटेड हो ।
त्यस्तै निफ्राले एनसेलको सेवा विस्तारमा ३ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने तयारी गर्दैछ । एनसेलले सेवा विस्तारको लागि ३० अर्ब ६६ करोड ६६ लाख रुपैयाँको योजना बनाएरको कर्जाको लागि बैंकहरुसँग प्रस्ताव गरेको छ ।
बैंकले सोलुखोला जलविद्युत परियोजनामा १ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गर्ने तयारी गरिरहेको छ । यस परियोजनाको कुल लागत १४ अर्ब ११ करोड ४२ लाख रुपैयाँ हुनेछ । यसको प्रवद्र्धक सहास उर्जा लिमिटेड हो । उल्लेखित परियोजनामा कर्जा लगानी गर्ने तयारी भइरहेको तर अन्तिम निर्णय बाँकी रहेको स्रोतले बतायो । यी परियोजनामा कर्जा लगानी गर्ने तयारीबारे बैंकले केन्द्रीय बैंकलाई समेत जानकारी गराएको थियो ।
निफ्राले हालसम्म विभिन्न ९ परियोजनामा १० अर्ब १६ करोड रुपैयाँ लगानी गरिसकेको छ । बैंकले करुवा सेती हाइड्रोपावरमा १ अर्ब ५० करोड, मिडिल मेवा हाइड्रोपावरमा १ अर्ब ५० करोड, पुरे इनर्जीमा १ अर्ब, सिजी सिमेन्ट इन्डष्ट्रिज पाल्पाको लागि १ अर्ब ५० करोड, सेतीखोला हाइड्रोपावरमा १ अर्ब २५ करोड, हायात प्लेस होटलमा ४५ करोड ५० लाख, मिडिल मोदी हाइड्रोपावरमा ७५ करोड र धर्म खोला हाइड्रोपावरमा १ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गर्ने निर्णय नै गरिसकेको छ ।