free website hit counter

दश वटा बीमा कम्पनीको हकप्रद आउँदै

beemaadmin
२०८१ पुष १३, शनिबार

काठमाण्डौ । बीमा कम्पनीहरुलाई चुक्तापूँजी बढाउन निर्देशन दिएको लामै समय बितिसक्दा पनि अझै थुप्रै कम्पनीको चुक्ता पुँजी पुग्न बाँकी रहेको छ । चुक्ता पुँजी वृद्धिका लागि करिब एक दर्जन बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको थियो । नियामकको निर्देशनबमोजिम ४ जीवन बीमक र ६ निर्जीवन बीमक गरी कुल १० वटा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । जसमध्ये जीवनतर्फ एलआइसी नेपाल र निर्जीवनतर्फ एनएलजी र नेको इन्स्योरेन्सले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट समेत अनुमति पाइसकेका छन् । एलआइसी नेपाल र एनएलजी इन्स्योरेन्सले हाल हकप्रद जारी गरिरहेका छन् भने नेको इन्स्योरेन्सले भने केही दिनअघि मात्रै बोर्डबाट स्वीकृति पाएको हो । अब धितोपत्र बोर्डको पाइपलाइनमा ७ वटा बीमक छन् । बोर्डले नयाँ अध्यक्ष पाएसँगै बीमा कम्पनीहरुले पनि क्रमशः हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाउन थालेका छन् । योसँगै अब बीमा कम्पनीहरुको चुक्तापुँजी बढ्ने प्रक्रिया पनि पुरा हुने देखिन्छ । कम्पनीहरुले चुक्तापुँजी बृद्धि प्रयोजनकै लागि नेपाल बीमा प्राधिकरणसँग हकप्रद जारी गर्न सैद्दान्तिक स्वीकृति माग गरेका थिए । प्राधिकरणले पनि बीमा कम्पनीहरुलाई सहुलियत प्रदान गर्दै चुक्तापुँजी बढाउने हेतुले सहजै स्वीकृति दिएको थियो । तर धितोपत्र बोर्डमा करिब एक वर्ष अध्यक्ष नहुँदा बीमा कम्पनीहरुले हकप्रदको लागि अनुमति पाउन सकेका थिएनन् । तर हालसम्म तीनवटा बीमा कम्पनीले हकप्रद जारी गर्न अनुमति पाइसकेको छ । अब बाँकी ७ कम्पनीले पनि हकप्रदको अनुमति पाउने देखिन्छ ।

सम्बन्धित समाचार