free website hit counter

दुई हप्तामै आफ्नै निर्णय उल्ट्याउँदै १६ सहसचिवको सरुवा (को कहाँ ?)

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्ति गर्न मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै करिब डेढ दर्जन सहसचिवहरुको सरुवा गरेको छ । आश्चर्यको कुरा त के छ भने माघ १९ गते पदस्थापना तथा सरुवा गरिएका केही सहसचिवहरु पनि सरुवामा परेका छन् ।

यसले के देखाउँछ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषद्ले नै सरुवा तथा पदस्थापनामा गम्भीर गृहकार्य गरेको देखिँनैन । जनकपुर उपमहानगरपालिकाले पहिलो पटक दरबन्दीअनुसारको सहसचिव प्रशासकीय अधिकृतमा उमेश बस्नेतलाई पाएको थियो । तर सरुवा भएका बस्नेत दुई हप्ता पछि नै उनी श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका छन् । समाचारस्राेतकाअनुसार  हाजिरै नभई उनको सरुवा काठमाडौंमा गरिएको छ । त्यस्तै सिमरा उपमहानगरपालिका बाराका खड्गबहादुर कार्की मधेशी आयोगमा, प्रदेश प्रमुख कार्यालय प्रदेश नं. १ को सचिव पदमा सरुवा गरिएका ठाकुर सिग्देल प्रदेश प्रमुख कार्यालय कर्णालीमा, धनगढी उपमहानगरपालिका कैलालीका हरि बखतीलाई राष्ट्रिय समावेशी आयोगमा, वीरगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतमा सरुवा भएका कृष्णप्रसाद धिताललाई राष्ट्रिय दलित आयोगमा, घोराही उपमहानगरपालिकाका टिकाराम ज्ञवालीलाई श्रम तथा रोजगार मन्त्रालयमा, प्रदेश प्रमुखको कार्यालय प्रदेश नं. ६ सुर्खेतका सहसचिव आनन्द सारू तुलसीपुर उपमहानगरपालिका दाङ, तुलसीपुर उपमहानगरपालिकाका कृष्णकान्त उपाध्याय प्रदेश नं. ५ को प्रदेश प्रमुखको कार्यालय बुटवलमा, हेटौडा उपमहानगरपालिका उपेन्द्र खनाललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

यी सबै सहसचिव माघ १९ को सरुवामा परेका हुन् । आफ्नै निर्णयलाई उल्ट्याउँदै प्रदेश र स्थानीय तहतिर पठाइएका सहसचिवहरुलाई केन्द्रमा सरुवा गरिएको हो । सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता भूपाल बरालको महालेखा नियन्त्रक कार्यालय काठमाडौँ सरुवा गरिएको छ सोही मन्त्रालयका सहसचिव केदार पनेरुको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

विराटनगर महानगरपालिका मोरङका भीष्म न्यौपानेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सरुवा गरिएको छ । त्यस्तै राष्ट्रिय समावेशी आयोग, काठमाडौँका वासुदेव शर्मालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशकमा सरुवा गरिएको हो ।

ललिता निवास प्रकरणमा अख्तियारले मुद्दा चलाएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश २ का सहसचिव तेजराज पाण्डे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका सहसचिव शंकरप्रसाद सुवेदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार