वीरगन्ज । आम नागरिकलाई बचाउन गरिएको लकडाउन कडा गर्नुपर्छ भन्ने कुरामा दुईमत छैन । तर मानिस सडकमा किन निस्कियो भन्ने कुरा पनि सुरक्षा निकायले सोधीखोजी गर्नुपर्छ । ऊ सडक निस्कन पर्नुको बाध्यता हेरेरै मात्र ऊमाथि कारबाही अघि बढाउनुपर्छ । नेपाल दुरसञ्चार कम्पनीका सेवानिवृत्त कर्मचारी ६७ वर्षीय नागेन्द्र पटेलको २ नातिनीका लागि दूध लिन जाँदा प्रहरीको कुटाइबाट खुट्टा भाँचिएको छ । वीरगन्ज महानगरपालिका– १६ निवासी पटेल सधैँझैं आइतबार बिहान पनि नजिकैको पसलमा दूध लिन जाँदा यस्तो घटना भएको हो । नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडमा पुगेपछि त्यहाँ रहेका प्रहरीले उनलाई कहाँबाट आएको ? कहाँ जान लागेको ? भन्दै केरकार गरेका थिए । जहाँबाट आएको हो उतै फर्किन आदेश दिए । प्रहरीको आदेश मानेर पटेल फर्किए । पछाडि फर्किने बित्तिकै प्रहरीले उनको दाहिने खुट्टामा लठ्ठी हान्यो । उनी त्यहीं ढले । पहिलेदेखि चिनजानका व्यक्तिले उनलाई बोकेर घर पुर्याए ।
हिँडडुल गर्न नसकेपछि छोरा गुन्जनले बिहान करिब ८ बजे उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगे । एक्स–रे मा खुट्टाको हड्डी भाँचिएको पाइयो । चिकित्सकले उनको खुट्टामा प्लास्टर गरिदिएका छन् ।