काठमाडौं । इतिहासमै सबैभन्दा ठूलो आइपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) प्राथमिक सेयर बाँडफाँड माघ १६ गते शुक्रबार बाडँफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले भोलि १० बजे लाजिम्पाटस्थित रहेको आफ्नो केन्द्रिय कार्यालयमा बाँडफाँड गर्ने भएको हो । आईपीओको प्रिअलोटमेन्ट भने माघ १४ गते नै सम्पन्न भएको थियो । जसअनुसार रितपूर्वक आवेदन दिएका सबै आवेदकले कम्पनीको सेयर हात पार्ने भएका छन् । क्यापिटलले दिएको पछिल्लो जानकारी अनुसार आईपीओमा आवेदन दिएका मध्ये कूल १४ लाख ७५ हजार ८ जनाको आवेदन रितपूर्वक रहेका छन् भने ६ हजार २७६ जनाको आवेदन रद्द भएका छन् ।
रितपूर्वक आवेदन दिएकामा १० कित्ताभन्दा बढी र ५० कित्तासम्म आवेदन दिएका लगानीकर्ताले आफुले माग गरेजति नै पाउने भएका छन् । त्यसभन्दा बढी अर्थात ६० कित्ता वा सो भन्दा बढी माग गर्ने आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाउने भएका छन् । क्यापिटलका अनुसार पहिलो चरणमा बाँडफाँड गरेर बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट बाँडफाँड गरिने छ । गोलाप्रथामा कूल ११ लाख ९४ हजार ४ जना आवेदक समावेश हुने छन् जसमध्ये भाग्यमानी ४ लाख ९२ हजारले मात्रै बैंकको थप १० कित्ता गरी अधिकतम ६० कित्ता सेयर हात पार्ने भएका छन् ।
बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ०।२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।