काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३२.३४ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले १४ करोड ९७ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट आम्दानी बढेकाले इन्स्योरेन्सको खुद नाफा बढोत्तरी भएको देखिन्छ । समीक्षा अवधिमा इन्स्योरेन्सले कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । गतवर्ष यसै अवधिमा इन्स्योरेन्सले १६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो । पुस मसान्तसम्मा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन पनि ५।९५ प्रतिशतले बढेर २९ करोड ६७ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क २८ करोड रुपैयाँ थियो । एक अर्ब ६४ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २२ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । खुद नाफामा वृद्धि भएसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वृद्धि भएको छ । इन्स्योरेन्सले सार्वजनिक भएको वित्तीय विवरण अनुसार इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ६५ पैसा कायम भएको छ । यो गतवर्षको यसै अवधिको तुलनामा ४०रुपैयाँ ६१ पैसाले बढोत्तरी भएको हो । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ १४ पैसा छ ।