काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा आज जेठ ०४ गते शुक्रवार सम्पन्न भएको छ । उक्त सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा सम्पन्न भएको हो । उक्त विशेष साधारण सभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु १,६४,४२,४१,९४० (अक्षरुपी एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय चालिस) ४० प्रतिशत अर्थात १० शेयर बराबर ४ शेयरका अनुपातले हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई सर्बसम्मतीले पारित गरेको छ । हकप्रद शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७ सय १७ रुपैयाँ पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्ध–पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव सर्बसम्मतीले पारित गरेको छ । सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ग)बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्च अनुमोदन गर्ने प्रस्तावलाई समेत सर्वसम्मतीले पारित गरेको हो ।