free website hit counter

नेपाल पुनर्बीमा कम्पनीले दोस्रो त्रैमासभित्र आर्जन गर्यो झण्डै ४ अर्ब बीमा शुल्क

beemaadmin
२०७७ चैत्र २८, शनिबार

काठमाडौं । नेपालको एकमात्र नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले निर्जीवन बीमा व्यवसाय ४५ करोड ४३ लाख र जीवन बीमा व्यवसाय ८ करोड २६ लाख रुपैयाँ गरी सो नाफा आर्जन गरेको हो। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३.८६ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ६२ करोड ३३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसैगरी, कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ३ अर्ब ४० करोड ५२ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३९ करोड ४६ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क २५।९४ प्रतिशत अर्थात ७८ करोड २७ लाख रुपैयाँले बढी हो। यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड २८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १३ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तै कम्पनीले यस अवधिमा ९९ करोड ८ लाख रुपैयाँ पुनर्बीमा कमिशन बापत खर्च गरेको छ। यस अवधिमा कम्पनीले १ अर्ब २८ करोड ८५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ८२ करोड ५९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ४९ करोड २ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार