काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) को प्रस्तावित १०.५३ प्रतिशत लाभांश वार्षिक साधारणसभाबाट पारित भएको छ । फागुन २५ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७५–०७६को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र बोनस सेयरको कर प्रयोजनार्थ ०।५३ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।
साथै, सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ । कम्पनीको साधारणसभा काठमाडौंको नक्सालस्थित एलआईसी नेपालको शिक्षालय हलमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०७५–७६ मा कम्पनीले १ लाख ८९ हजार ३२० वटा नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत ४ अर्ब २२ करोड ८३ लाख रुपैयाँ संकलन गर्न सफल भएको थियो ।
त्यस्तै, २०७६ असार मसान्तसम्ममा कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७ लाख ३५ हजार ७४५ वटा र कूल जीवन बीमा कोषमा ५३ अर्ब ८७ करोड ७३ लाख रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०७५–७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९ प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशतको बृद्धिदर रहेको थियो ।
कम्पनीका अध्यक्ष एमआर कुमारले आफ्ना बीमितहरुलाई सदैव उच्चतम प्रतिफल दिईरहने प्रतिबद्धता जनाएका छन् । सभामा संचालक समितिका अन्य संचालकहरु मुकेश कुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भिके कुक्रेजा र लक्ष्मीप्रसाद दास उपस्थित थिए ।