काठमाडौं । अति प्रभावित क्षेत्रमा कोरोनाको पीसीआर परीक्षण हुन नसकिरहेको बेला लोक सेवा आयोगको अन्तर्वार्तामा सहभागी हुन पीसीआर रिपोर्ट अनिवार्य बुझाउनु पर्ने व्यवस्था गरिएकोछ । आयोगले मंगलबार एक सूचना सार्वजनिक गर्दै अन्तर्वार्ताको सूचीमा रहेकाले कोरोना भाइरसको परीक्षण गराएको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने उल्लेख गरेको हो। आयोगले सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को परीक्षाको मिति सार्वजानिक गरेको थियो । सहसचिव तहको परीक्षा आगामी २ आसरदेखि २६ गतेसम्म हुने आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको थियो । आज अर्को सूचना जारी गर्दै सो परीक्षामा सहभागी हुने उम्मेद्वारलाई अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउन भनेको छ। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार, काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने छ । कोरोना परीक्षणमा कुनै समस्या आइपरेमा आयोगका उपसचिव सन्तोष दाहाललाई ९८५१०९६११८ नम्बरमा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख छ।