free website hit counter

फेरि तीन दिन वर्षा, बाढी पहिरोको जाेखिम

beemaadmin
२०७७ श्रावण ११, आईतवार

काठमाडौं । लगातारको वर्षापछि सुस्ताएको आकाश फेरि मडारिन शुरु गरेको छ । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको हो । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।

केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ ।

साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान छ । विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा भनिएको छ, सोमबाररातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय हुनेछ ।

त्यसैले ती स्थानहरुका नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार राति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार