काठमाडौं । अघिल्लै वर्षको चैत १० गतेदेखि शुरु भएको लकडाउन टुंगिने छाँटकाट देखिँदैन । कोरोनाले झन झन उग्ररुप देखाउँदै गएको बेला फेरि लकडाउनको अवधि २० थप गर्न कोरोना भाइरस रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेको छ । गत चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउनलाई समितिले २० दिन बढाउन सिफारिस गरिएको बताइएको हो । सरकारले घोषणा गरेको लकडाउनको समयावधि भोलि सोमबार अर्थात जेठ ५ गते सकिँदैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ ।
राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको अवधि अझै थप्ने निर्णय गरेको हो । समितिको आज बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको बताइएको छ । यसबारेमा अन्तिम निर्णय भने आजै बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ । नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि लकडाउन पनि बढ्दै गएको छ । हालसम्म २ सय ९२ जनामा कोरोना भाइरस देखिएको छ भने २ जनाको मृत्यु भइसकेको छ । ३६ जना निको भएर घर फर्किसकेका छन् ।