free website hit counter

बाहिरबाट नेपाल हेर्दा

beemaadmin
२०७८ कार्तिक ११, बिहीबार
नेपाललाई नेपाल भित्रबाट हेरिए जस्तै नेपाल बाहिरबाट पनि हेरिन्छ। त्यसै गरी नेपालीलाई नेपालीले हेरे जस्तै विदेशीले पनि हेर्ने गर्छन्। यसरी हेरिने दृष्टिकोण अनुसार नेपालको मूल्यांकन हुने गर्छ।नेपाल भित्र र नेपाल बाहिरबाट नेपाललाई कसरी बुझिदो रहेछ भन्ने सन्दर्भमा नेपाल बाहिरबाट एउटा नेपालीले नेपाललाई कसरी हेर्छ र बुझ्दछ भन्ने तर्फ यस लेखलाई डोर्याउने कोशिस गरेको छु।
बाहिर बसेर हेर्ने ब्यक्ति रहेको देशको राजनीतिक, आर्थिक अबस्था र हेर्नेको दृष्टिकोणले पनि नेपालको मूल्यांकन फरक तवरबाट हुन्छ होला तर पनि निष्पक्ष भएर मूल्यांकन गर्दा नेपाल कस्तो देखिन्छ होला भन्ने तर्फ लेखलाई डोर्याउने कोशिस गरेको छु।
सर्व प्रथम त नेपालमा कानूनी शासनको अवधारणाले ब्यबहारिक रूप लिन नसकेको देख्दा एउटा नेपालीलाई चित्त बुझ्दो रहेन छ। संविधान र कानूनमा लेखिएका कुराहरू केवल देखाउन मात्र राखिए जस्तो लाग्छ। तिनीहरू लागु गर्ने गराउने निकायहरू जिम्मेवार देखिदैनन्। त्यसो त जनताले पनि आफूले पूरा गर्नु पर्ने कर्तब्य पूरा गरेको पाईदैन। राज्यले प्रदान गर्ने सेवाहरूको गुणस्तर र सेवा प्रवाह सरल र सहज भै रहेको पाईदैन भने सेवा ग्राहीहरू पनि सेवा लिन लाईनमा नबस्ने र प्रतीक्षा पनि गर्न नसक्ने गरेको पाईन्छ।
देश र जनताको विकासका लागि राज्यले अख्तियार गर्ने मूल नीति राजनीति हो तर यो सेवाको रूपमा नभएर पेशाको रूपमा रहेको पाईएको छ।
राजनीतिमा जति मात्रामा युवाहरूको सहभागिता बढ्छ उती मात्रामा राजनीति चलायमान र परिणाम मुखी हुन्छ तर नेपालको राजनीतिको चालकको सिटमा अशक्त र दृष्टि बिनाका ब्यक्ति बसेका छन्, ऊनीहरूमा सत्ता लिप्सा देखिन्छ। त्यसै गरी नेपालको राजनीतिमा प्रजातन्त्र नचाहने र कानूनको शासन भन्दा पनि ब्यक्तिको शासन चाहनेहरूको बाहुल्यता छ। त्यस्तै विगत केही बर्ष देखि नेपालले एउटा राजनेताको अभाव भोगीरहेको छ। नेपालको राजनीतिलाई संयोजन र समन्वय गर्न सक्ने खुवी भएको ब्यक्तिको खोजीमा नेपाल रहेको देखिन्छ।
वेरोजगारीका कारण देशका यूवाहरू विदेशिन बाध्य छन्, तिनीहरूले पठाएको विप्रेषणबाट हाम्रो मुलुक चलेको छ तर हाम्रा राजनेता भनाउदाहरू यिनै यूवाहरू प्रति पूर्वाग्राही भएर देशलाई सहयोग नगरेको आरोप लगाएर राज्यले दिने सेवा सुविधामा कन्जुस्याईं र विभेद गरेका छन्। देशमा रोजगारीका अवसर सिर्जना गरेर ती अवसरमा विदेशिएका नेपालीको सहभागिता जुटाउने नीति बनाउनुको सट्टा उनीहरूलाई पनि विदेशी नागरिक सरहको ब्यबहार देखाएको अनुभूति गर्नु परेको छ। नेपालीले बोक्ने राहदानीलाई विदेशीले देखाउने ब्यबहारले मुटुमा गांठो पार्छ। हाम्रो राहदानी बोकेर नेपालको ईज्जत बेच्ने तस्कर र अपराधीहरूले कसरी हाम्रो देशको राहदानी दुरूपयोग गरीरहेका छन् ? कुटनीतिक माध्यम प्रयोग गरेर यस तर्फ छानविन गरेर नेपालीको शीर सदा झै उच्चो बनाई राख्नु पर्ने देखिन्छ।
विकासको लागि आधारभूत संरचनाको गुणस्तर कसरी कायम गर्न सकिदो रहेछ, साधन र श्रोतको संकलन कसरी हुदो रहेछ भन्ने ज्ञान विदेशमा भुक्तभोगी भएका नेपालीलाई छ तर उनीहरूले सिकेको त्यस किसिमको ज्ञान र सीपलाई नेपालको अर्थतन्त्र र विकासमा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने तर्फ नेपालका नीति निर्माताहरूले एक ईन्ची पनि सोच राखेको पाईएन।
नेपालले आफ्नो देशका प्रतिनिधिको रूपमा विश्वका बिभिन्न देशमा कुटनीतिक ब्यक्तित्व खटाउने गरेको छ तर यसरी खटिने कुटनीतिज्ञहरूमा वैदेशिक सेवा र सीमित रूपमा केही कुटनीतिज्ञ बाहेक अन्य ब्यक्तित्वहरूले आफ्नो मुलुक र विदेशमा बस्ने नेपालीहरूको हितमा काम गरेको पाईदैन। यसरी खटिने अधिकांश ब्यक्तित्वहरू राजनीतिक दल संग आवद्ध हुने र पार्टी र नेतालाई सहयोग गरेका आधारमा खटिने गरेको पाईएकोले त्यस्ता बाट राज्यको श्रोत र साधनको दुरूपयोग बाहेक कुनै पनि कुटनीतिक फाईदा भएको पाईएको छैन।
केही समय यता नेपालको कुटनीतिक ब्यबहार सन्तुलन गर्ने क्षमता भएको सरकार पनि नेपालले पाउन सकेको देखिएन। यही कमजोरीका कारण विभिन्न देशका राजदूतहरू वालुवाटार भित्रै पसेर देउसी भैलो खेलेको धेरै भएको छैन। त्यसै गरी विदेशीवादको प्रशिक्षण शिविरमा स्वयं सरकार प्रमुखले सहभागिता जनाएको पनि धेरै भएको छैन।
नेपालको संस्कृति र परम्परामा आंच आउने गरी विदेशीहरूले खेल्ने मौका पाउनुले पनि सरकारको कुटनीतिक क्षमता उदांगो पारेको छ।
त्यसै गरी विश्व मै तहल्का मच्चाएको कोभिड-१९ को रोकथामलाई समेत समय मै संबोधन गर्न सकेको पाईएन। दायां पाखुरामा एउटा देशको र वायां पाखुरामा अर्कै देशले दिएको खोप लगाउनु पर्ने स्थिति देखिनु निश्चय पनि लाज मर्दो अवस्था हो।
नेपालमा सब भन्दा खट्केको कुरा के हो भने नेपाली जनताले तिरेको कर र विदेशबाट प्राप्त हुने सहयोगको सदुपयोग पटक्कै भएन।कर तिरेका जनताहरूले आशा गरेका सेवाहरू पाउनुको सट्टा हरेक कार्यालयबाट निराशा बोकेर फर्कनु पर्ने अबस्था छ। सरकार सेवाग्राही प्रति उदासिन भै रहेको छ। सरकारको भूमिका खोजेका जनताहरूले सरकारको उपस्थिति नै नदेख्ने अबस्था छ।
जनताको अभाव, रोग, भोक, गरीबी, अशिक्षामा सरकारको भूमिका र कृयाशिलता चाहेका जनताहरू सरकारको कछुवाको गतिले दिक्क छन्।
नेपाल प्राकृतिक रूपमा कति धनी छ? संस्कृतिक सम्पदामा कति सम्पन्न छ? भूगोलमा सानो भए पनि जैबीक बिबिधतामा कति फराकिलो छ? यिनै अमूल्य निधीलाई विश्वमा प्रचार प्रसार गरेर पर्यटकलाई निम्त्याउन सक्यौ भने नेपालको विकासलाई सार्है मेहनत गर्नै पर्दैन। एशियाको मध्य पूर्व पेट्रोलियम पदार्थ बेचेर धनी हुन सक्यो, पर्यटकहरू भित्र्याएर भूटानले आर्थिक बिकास गर्यो भने जलश्रोत र पर्यटनको विकासबाट नेपाल धनी हुन सक्छ र यसमा सहयोग गर्न विदेशमा बसेका हरेक नेपाली तयार छन्।
यसरी साधन श्रोत भएर पनि यसको ब्यबस्थापन गर्न नसकेर गरीबीको कोटीमा पर्नु परेकोमा हामी सबैलाई दिक्क लागेको छ। त्यसैले हाम्रो चाहना चाडै पूरा हुन सकोस्, देश विकासको लागि सोच्ने दूर दृष्टि भएको ब्यक्तित्व देशको चालक बनोस् भन्ने कामना गरौं।

सम्बन्धित समाचार

सरकारकाे नीति तथा कार्यक्रममा के छ ? 

beemaadmin
२०८३ बैशाख २९, मंगलवार

आजदेखि विशेष उडानमार्फत् नेपालीको उद्धार

beemaadmin
२०८२ चैत्र २०, शुक्रबार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

beemaadmin
२०८२ फाल्गुन १४, बिहीबार