काठमाडौं । बीमा समितिले नयाँ नेतृत्व पाएसँगै समितिका काम चुस्त हुँदै गएका छन् । नियामक निकायको भूमिका प्रभावकारी बनाउने सिलसिला जारी रहेका बेला नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ । साउन १ गते शुक्रवार एक कार्यक्रमकाबीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसाथ गर्दै यो चरणमा आइपुगेका हौं, उनले भने, यो अन्त्य होइन, प्रारम्भ हो, हामीले संसारमा आएका धेरै टेक्नोलोजीलाई अवलम्बन गर्नैपर्छ । फिजिकली इन्टरफेशलाई जति घटाउन सक्यो त्यति सशक्त हुँदै जाने बताउँदै अध्यक्ष सिलवालले यसबाट समयको वचतसँगै इमान्दार व्यवसायिक प्रयास भएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीसँग पटक पटक विवरण माग्नुपर्ने र सही विवरण आउन नसक्ने भएकोले सही विवरण दिने प्रयत्नले नयाँ सफ्टवेयर नयाँ सर्भर ल्याएको बताए । अब कुन कम्पनीको अवस्था कस्तो छ भनेर हेर्न सहज भएको छ, निर्देशक पौडेलले भने, बीमा कम्पनीसँग अब चाँडै जोडिएर यो सफ्टवेयरलाई धेरै भन्दा धेरै चलायमान बनाउनेछौं । यो सूचना प्रविधिको जमाना भएकोले चाँडो भन्दा चाँडो जनतालाई सही जानकारी दिने उनको भनाइ छ । बीमकहरुबाट समितिलाई पठाउनुपर्ने महत्वपूर्ण तथ्यांकहरु उपलब्ध गर्ने कार्य कठिनाई भएकोले समग्र बीमा व्यवसायको तथ्यांक व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाहरुलाई काम छिटो, छरितो रुपमा सम्पन्न गर्न सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बीमा व्यवसायसँग सम्बद्ध बीमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र सफ्टवेयर जडान गरिएको समितिले जनाएको छ । समितिमा अब कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगायतका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभइ सफ्टवेयरबाट नै अनलाइन माध्यमबाट तपशील बमोजिम दैनिक,मासिक, त्रैमासिक, वार्षिक रुपमा पेश गर्न सक्नेछन् ।