काठमाडौं । बीमा व्यवसायलाई अझ विश्वासिलो बनाउन नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । बीमा दाबीसम्बन्धी ठगी नियन्त्रण र विवाद समाधानका लागि नियामक निकायले यस्तो निर्णय लिएको हो । दोस्रो रणनीतिक योजना सन् २०२३–२०२७ ले उद्योगले अपनाएको दाबी भुक्तानी खास प्रभावकारी नभएको पहिचान गर्दै दाबी भुक्तानी प्रक्रियालाई छरितो बनाउने रणनीति नियामक निकायले लिएको हो। रणनीतिक योजनाको रणनीतिक स्तम्भले बीमा उद्योगको विश्वास बढाउन र विश्वसनीयता कायम गर्न दाबी प्रक्रिया सुधारमा जोड दिएको छ। सरोकारवाला र बीमा क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बद्ध अन्य सबै सरोकारवालालाई पूर्ण, सुसंगत र संक्षिप्त जानकारी सहयोग प्रदान गरी बीमा क्षेत्रको प्रभावकारी सञ्चालनमा मद्दत गर्न बीमा सूचना केन्द्र स्थापना गर्न आवश्यक छ। रणनीतिक योजनाले प्राधिकरण र बीमा उद्योगको दाबी सम्बन्धित वेब पोर्टलको विकासमार्फत दाबी समाधान प्रक्रियालाई २०२६–२०२७ को बीचमा सुधार गर्ने लक्ष्य राखेको छ। तर, यो कामका लागि नियामकका तर्फबाट उल्लेख्य पहल अझैसम्म हुन सकेको छैन । योजनाअनुसार २०२४ को अन्त्यसम्ममा बीमा ठगी र अपराध नियन्त्रण गर्ने प्रणालीको विकास गरिनेछ। प्राधिकरणले यस्तो संयन्त्रको उपस्थितिबाट बीमासम्बन्धी ठगीलाई रोक्ने आशा लिएको छ। एनआईएको सहजीकरणमा बीमा कम्पनीबीचको तथ्यांक र सूचनाको एकीकरणबाट मात्र यस्तो संयन्त्र स्थापना गर्न सकिने बीमा उद्योगका विज्ञहरु बताउँछन् । नेपालमा बैंकिङ उद्योगले कर्जासम्बन्धी जानकारी आदान प्रदान गर्न र ऋण वितरणमा ठगीबाट बच्न क्रेडिट सूचना केन्द्रको प्रयोग गरिरहेको छ ।