free website hit counter

भदौ ११ गतेबाट बन्दीपुर केवलकारको आईपीओ निष्काशन

beemaadmin
२०८२ भाद्र ३, मंगलवार

काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०।७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख २९ हजार ४०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १ लाख ५८ हजार ८२० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख ६४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष रहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार