काठमाडौं । नियामक बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान खासै दबाव नदिए पनि व्यवसाय विस्चार र पुँजी बढाउन दुई निर्जिबन बीमा कम्पनी एक हुने तयारी गरेका छन् ।
सगरमाथा इन्स्योरन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरको छलफल थालिएको छ । दुई कम्पनीबीच मर्जरमा जाने सैद्धान्तिक सहमति भएको र प्राविधिक विषयमा छलफल चलिरहेको बताइएको छ ।
कम्पनीको नाम सगरमाथा इन्स्योरेन्स कम्पनी नै राख्नको लागि हिमालयन जनरलतका प्रमोटर तयार देखिएका छन् । यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत पनि सगरमाथाका अहिलेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई नै दिने र हिमालयनको तर्फबाट डेपुटी प्रमुख कार्यकारी अधिकृत राख्ने मौखिक सहमति भइसकेको बताइन्छ ।
मर्जरमा स्वाप रेसियोको लागि प्रारम्भिक छलफल भएको छ । सगरमाथाको सेयर मूल्यांकन बढी हुने भएको छ । प्रारम्भिक सहमति अनुसार सगरमाथा र हिमालयनको सेयर स्वाप अनुपात १ः०.८ हुने भनिएको छ । अर्थात सगरमाथाको सय कित्ता सेयर हुनेले मर्जरपछि पनि सय कित्ता नै सेयर पाउने छन् भने हिमालयनको सय कित्ता सेयर हुनेले ८० कित्ता पाउने छन् ।
यद्यपि, हिमालयनका तर्फबाट सय कित्ता बराबर ९० कित्ता सेयर हुनुपर्ने अडान पनि आएको छ । हिमालयनका तर्फबाट नयाँ प्रस्ताव आएपछि सगरमाथाले ७५ कित्ता मात्रै दिन सकिने नयाँ अडान अघि सारेको छ । दुबै कम्पनीका प्रमोटरहरुले हिमालयनका सय कित्ता सेयर हुनेले ८० देखि ८५ कित्ता सेयर पाउने गरी सहमति हुन सक्ने पुष्टी गरे । मर्जरको लागि आन्तरिक छलफल चलिरहेको समयमा स्टक मार्केटमा सुचना चहिएको भन्दै सगरमाथा इन्स्योरेन्स कम्पनीका अधिकारीहरु भने केही असन्तुष्ट भएका छन् । यद्यपि, दुबै कम्पनीका प्रमोटरबीच यसै साता थप छलफल भएर अघि बढ्ने सम्भावना रहेको दुबै कम्पनी स्रोतले जानकारी दिएको छ ।