free website hit counter

यसरी बाजी मारे गृहसचिवमा न्यौपानेले

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौँ । लामो रस्साकस्सी र दौडधूपपछि अन्ततः गृहसचिवमा महेश्वर न्यौपानेले बाजी मारेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत न्यौपानेलाई पूर्व एमालेहरुको दरिलो साथ थियो भने प्रधानमन्त्री केपी शर्मा ओली पनि पछिल्लो समय उनी सकारात्मक बन्दै आएका थिए । सोही कारण उनी गृहमा आउन सफल भएका हुन् ।

उनलाई गृहसचिव बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासिला युवा नेता महेश बस्नेत लगायत पूर्व एमालेको ठूलै टिम खटेको थियो । भक्तपुर गुण्डु निवासी न्यौपाने महेश बस्नेतको निर्वाचन क्षेत्रका स्थानीय मात्रै होइनन् बस्नेतसँग निकै हितैसी सम्बन्ध रहेको छ । बस्नेत उद्योग मन्त्रालयको मन्त्री पद सम्हाल्दा न्यौपानेलाई उद्योग विभागको महानिर्देशक जस्तो जिम्मेवारी समेत दिएका थिए । बस्नेत निस्किए लगत्तै सचिवमा बढुवा भएका न्यौपानेले निर्वाचन आयोगहुँदै पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

सोमबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई गृहमा लैजाने निर्णय गर्दै अख्तियारमा प्रदेश नं. १ का प्रमुख सचिव सुरेश अधिकारीलाई ल्याउने निर्णय गरेको थियो । त्यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईलाई जेष्ठताका आधारमा सचिवमा बढुवा गर्दै प्रदेश नं. १ को प्रमुख सचिवमा पदस्थापना गर्ने निर्णय गरेको छ ।

सो पदमा जानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव सूर्य गौतमको दौडधूप थियो । निवर्तमान गृहसचिव प्रेम राईका विश्वासिला र उनी निकट सचिवलाई गृहमा ल्याउने चर्चासँगै न्यौपानेले बाजी मारेका हुन् ।

राईको भने सोमबार अबेर गृह मन्त्रालयले भव्य विदाई गरेको छ । बिदाई कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले राईलाई अल्कोहलिक प्रशासक होइन वर्कअलिक प्रशासक भन्दै लामै प्रसंसा गर्न भ्याएका थिए । उनले गृहसचिवबाट मात्रै बिदाई गरेको र उहाँलाई चाँडै नै नयाँ जिम्मेवारी दिने खुलासा गरेका थिए ।

सम्बन्धित समाचार