free website hit counter

यस्ता जनप्रतिनिधि र कर्मचारी सबैतिर भैदिए

beemaadmin
२०७६ पुष १८, शुक्रबार

अर्घाखाँची । अधिकांश नगरपालिका र गाउँपालिकाका मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षबीच खटपट रहेको, समन्वय काम हुन नसकेको कारणले त्यो विवाद छताछुल्ला अवस्थामा पुगेका समाचार पनि बेला बेला नआएका होइनन् । राजनीतिक नेतृत्व र कर्मचारीबीच समन्वय हुन नसक्दा नगरपालिका र गाउँपालिकाले गति लिन नसकेको, द्वन्द्व सिर्जना हुने गरेको तथा कर्मचारी टिक्न नसकेका घटनाहरु पछिल्ला समयमा बिकराल बन्दै गएको छ । तर अपवाद नै मान्नुपर्छ, अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका भने यी समस्याहरुबाट मुक्त छ । गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल र उपप्रमुख तुलसीदेवी श्रेष्ठबीचको सम्बन्ध सुमधुर भएकै कारण आज त्यो गाउँ पालिकाले विकास निर्माण लगायत अन्य कार्यक्रमहरुमा फड्को मारेको छ भने कर्मचारी नेतृत्व र राजनीतिक नेतृत्वबीचको सम्बन्ध पनि नङ र मासुको जस्तै रहेको अवस्था छ ।

गाउँपालिकाका अध्यक्ष पोखरेलले आफू र उपप्रमुखबीचको सम्बन्ध र कर्मचारीसँगको समन्वय र सहकार्यका कारणले गर्दा नै आज यो गाउँपालिका देशभरका ४ सय ६० गाउँपालिकामध्ये उदाहरणीय काम गर्न सफल भएको बताउनुभयो । धेरै सूचांकहरुमा अगाडि आउनुमा कर्मचारीको साथ सहयोग रहेको उहाँको भनाई थियो । त्यस्तै गाउँपालिकाका उपप्रमुख तुलसीदेवी श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीबीचको असल सहकार्यका कारण गाउँपालिकाले सोचेअनुसारको प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले हरेक कुरामा अध्यक्षले आफूसँग सल्लाह, सुझाव लिने गरेको र आफूले पनि अध्यक्ष र कर्मचारीहरुसँग सहयोग लिने गरेका कारण अन्यत्रका स्थानीय तहमा राजनीतिक नेतृत्व र कर्मचारीबीच देखिएका द्वन्द्वका समस्या यहाँ बिल्कुलै नदेखिएको बताउनुभयो ।

उहाँको भनाई थियो, जनप्रतिनिधि र कर्मचारी एक रथका दुई पाङ्गा जस्तै भएर गाउँपालिकालाई अगाडि बढाइरहेका छौं, जनप्रतिनिधिको साथ सहयोग कर्मचारीलाई, कर्मचारीको साथ सहयोग जनप्रतिनिधिलाई मिलेपछि केको विवाद आउथ्यो ? त्यस्तै उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले पनि जनप्रतिनिधिहरुको साथ सहयोगले नै कर्मचारीले उच्च मनोबलका साथ काम गर्न सफल भएको र आज छत्रदेवको चर्चा र प्रगति छ त्यसमा कर्मचारी र जनप्रतिनिधिको साथ सहयोग नै मूल कारण रहेको र यसमा स्थानीय नागरिकको पनि उत्तिकै विश्वास र साथ रहेको बताउनुभये । त्यस्तै वडा नं. ६ का वडाध्यक्ष कमल पौडेलले पनि जनप्रतिनिधिहरुबीच तथा जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध सुमधुर रहेको कारण छत्रदेव गाउँपालिकाको विकासले फड्को मारिरहेको बताउनुभयो ।

अधिकांश मुद्दा फस्याेट 
न्यायिक समितिको समेत संयोजक रहनुभएकी उपाध्यक्ष तुलसीदेवी श्रेष्ठले अहिलेसम्म न्यायिक समितिमा २७ वटा विभिन्न प्रकृतिका मुद्दा परेका र पाँच वटा मुद्दाको मात्र फस्र्योट हुन बाँकी रहेको बताउनुभयो । गाउँपालिकामा कानुन क्षेत्रका विज्ञ कर्मचारी नहुँदा काम गर्न अप्ठ्यारो भएको र जनप्रतिनिधिहरुसँग खासै कानुनी ज्ञान नहुने भएका कारण गाउँपालिकामा कानुनी क्षेत्रका कर्मचारी भएमा काम गर्न सहज हुने उहाँको धारणा थियो ।

चुनौती र अप्ठ्यारहरु थुप्रै छन् तर ती चुनौती छन् भन्दैमा काम गर्न छाड्नु भएन । दर्ता भएका कतिपय मुद्दा प्राविधिक प्रकृतिका हुने कारणले पनि आफूहरुलाई निर्णय गर्न गाह्रो हुने गरेको उहाँको धारणा थियो । न्यायिक समितिलाई विभिन्न प्रकृतिका १३ वटा मुद्दा हेर्ने अधिकार छ ।

सम्बन्धित समाचार