काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा आर्थिक वर्ष २०७७–०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गरेकी छन् । नीति तथा कार्यक्रममा विदेशमा रोजगारी गुमाएर फर्किनेहरुलाई मुलुक निर्माणमा परिचालन गरिने लक्ष्य लिइएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले २ घण्टा ३५ मिनेट लगाएर वाचन गरेको नीति तथा कार्यक्रममा कोभिड– १९ ले पारेको असर र यसका लागि सरकारले चाल्ने नीति समेटिएको छ । सरकारले कोभिड– १९ नियन्त्रणका लागि स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने, स्वास्थ्य क्षेत्रमा पूर्वाधार बनाउने लगायतका कार्यक्रम समेटेको छ । कोभिड– १९ का कारण विदेशमा रोजगार गुमाउने श्रमिकका लागि स्वेदशमा रोजगारी, व्यावसायिक कृषिका कार्यक्रम सञ्चालन गर्ने पनि राष्ट्रपतिले वाचन गरेको सरकारका नीति तथा कार्यक्रममा समावेश गरिएका छन् । यो बाहेक सरकारका नीति तथा कार्यक्रम अधिकांश पुरानै परेका छन् । विगतका वर्षमा जस्तै पूर्वपश्चिम रेलमार्ग निर्माण, काठमाडौं तराई फास्ट ट्र्याक निर्माण ३ वर्षमा सक्ने, मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने र अन्य निर्माणाधीन आयोजनालाई अगाडि बढाउने लगायत कार्यक्रम छन् । सरकारले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यसै वर्ष समेट्ने पनि बताएको छ । सरकारको नीति तथा कार्यक्रमको अन्तिमतिर राष्ट्रपति भण्डारीले छुटेको भूमि समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरिन् । राष्ट्रपति भण्डारीले लिम्पियाधुरा नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न कूटनीतिक पहल गरिने छ, भन्दा सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए ।