काठमाडौं । कोरोना संक्रमित थपिनेक्रम सयौंको संख्यामा पुग्न थालेको छ । अब कोरोनाको कहर कहाँ मात्रै छैन भन्ने अवस्था आइसकेको छ । सबैतिर संक्रमित भेटिन थालेको छ । अझ लकडाउनलाई खुकुलो पारेको अवस्थामा यस्ता संक्रमित थपिनेक्रम बढ्ने देखिन्छ । काठमाडौं उपत्यकामा थप पाँच जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला र काठमाडौं महानगरका ४ जना संक्रमित थपिएका जानकारी दिएका हुन्। काठमाण्डौमा भेटिएका २ महिला र २ पुरुष गरी ४ संक्रमित प्रहरी अस्पतालमा उपचार गराइरहेका प्रहरी परिवार तथा अस्पतालमा कार्यरत प्रहरीहरु रहेका छन् । काठमाडौंका ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।प्रहरी अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी, एकजना सोही अस्पतालमा डायलासिस गराइरहेकी महिला र अर्की एक प्रहरी पत्नी भएको खुलेको हो । यस्तै,भक्तपुरको कमल विनायकमा संक्रमित भएको भनिएकी ३० वर्षीया महिला सुत्केरी रहेकी समेत खुलेको छ। उनी भक्तपुरको कमल विनायकमा डेरा गरी बसेकी महिला रहेकी खुलेको हो । शनिबारमात्रै ३२३ जना कोरोना संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या १३ पुगेको छ। हालसम्म नेपालमा ३२३५ जना कोरोना संक्रमित छन् भने ३६५ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन्।