काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्क र खुद नाफा दुबै घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क ११.०६ प्रतिशत र खुद नाफा ५६.३० प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क ११.०६ प्रतिशतले घटेर १२ करोड ८७ लाख ७७ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिसमा कम्पनीले १४ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा ५६.३० प्रतिशतले घटेको छ । कम्पनीले १३ करोड ७४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३१ करोड ४४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन वापत ८ करोड ८४ लाख रुपैयाँ,लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३ करोड रुपैयाँ, बीमा कोषमा २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
यस अवधिसम्ममा कम्पनीले २६ हजार ७४८ वटा बीमालेख जारी गरी ८५ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ४ हजार १२७ वटा बीमालेखहरु नविकरण भएका छन् । कम्पनीले २ हजार १५१ वटा दाबी वापत ५ करोड ५ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।