free website hit counter

रिलायबल नेपाल लाइफको खुद नाफा बढ्यो

beemaadmin
२०८० माघ २३, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.७४ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २१.७८ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी १२.७९ प्रतिशत र कुल खर्च १३.६८ प्रतिशत बढेको छ। नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४ रुपैयाँ १७ पैसा घटेर ११ रुपैयाँ ५५ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढ्न नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा रहेको छ। ४ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५ करोड ५६ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार