काठमाडौँ । लगातारको लकडाउनले मुलुक ठप्प भइरहेको बेला सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी थालेको छ । त्यसबारे निर्णय गर्न आज अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय गर्ने बताइएको छ । हिजै प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्नुभएको थियो । त्यो छलफलमा पनि मोडालिटी परिवर्तनको सुझाव आएको थियो । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटीमा हेरफेर गर्ने बताइएको छ । सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ । यसै विषयमा प्रधानमन्त्री ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गरेका थिए । परामर्शमा स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए ।