काठमाडौं । उद्योग विभागमा व्यापक हेरफेर भएको छ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको इच्छामा मन्त्रालयको शक्तिशाली मानिने विभागमा चाडपर्वको छेको पारेर गोप्य रुपमा शाखा परिवर्तन गरिएको बुझिएको छ । जसअनुसार विभागको महत्वपूर्ण शाखा मानिने वैदेशिक लगानी शाखाको निर्देशकमा उदय गुप्तालाई ल्याइएको छ भने सो शाखामा कार्यरत प्रशान्त बोहोरालाई उद्योग मन्त्रालय सरुवा गरिएको छ । गुप्ता यसअघि श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत काठमाडौं श्रम कार्यालय ताहाचलको प्रमुख थिए । सोभन्दा अघि उनी घरेलु तथा साना उद्योग विभागमा कार्यरत थिए । त्यसैगरी घरेलु तथा साना उद्योग प्रवद्र्धन शाखाका प्रमुख नोखबहादुर बस्याललाई बाणिज्य विभागमा सरुवा गरिएको छ । सो शाखामा उपसचिव दिपक घिमिरेलाई जिम्मेवारी दिइएको छ । उक्त शाखालाई विभागको सबैभन्दा कमजोर शाखाको रुपमा लिइन्छ । त्यसैगरी ट्रेडमार्क शाखाका निर्देशक प्रेम लुइटेललाई इजाजत शाखाको जिम्मेवारी दिइएको छ ।