काठमाडौं । विश्व कोरोनासँग युद्ध गरिरहेको छ । नेपाल पनि त्यही अभियानमा छ । सबै एक जुट भएर कोरोना संक्रमण पराजितगर्नु पर्ने बेला हो यो । तर सरकार भने बेमौसमी बाजा बजाउन व्यस्त देखिन्छ । अहिले कुन दललाई आवश्यक पर्यो दल विभाजनसम्बन्धी विधेयक ? त्यो विधेयक नल्याउँदा कोरोना संक्रमण रोक्न अप्ठ्यारो छ ? सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । वर्तमान कानुनअनुसार राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था छ । तर अव संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्नेगरी प्रस्तावमाथि छलफल भएको हो ।