काठमाडौं । नयाँ नयाँ बीमा योजना ल्याएर ग्राहकको मन जित्न सफल बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीले नयाँ वर्षको अवसर पारेर नयाँ बीमा योजना ‘सगरमाथा आरोग्य बीमा’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालीको स्वास्थ्य स्थितिबाट सिर्जना हुन सक्ने आर्थिक जोखिमलाई न्युनिकरण गर्नको लागि सो बीमालेख सार्वजनिक गरेको स्पष्ट पारेको छ ।
यो योजना अन्तर्गत एक्सिडेन्टल, मेडिकल र क्रिटिकल गरी तीन किसिमको बीमा हुने छ । जसले ७ लाखदेखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, १ लाखदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार जोखिम र १ लाखदेखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकारका रोगको जोखिम एउटै बीमाले कभर गर्ने भएको छ । बैशाख २ गतेदेखि देशैभरका ८४ वटा शाखाबाट बिक्री गरिने यो बीमालेख ६ देखि ६५ वर्ष उमेर समूहका नागरिकले खरिद गर्न पाउने छन् । यो बीमालेख घर तथा अफिस जहासुकैबाट पनि सजिलै खरिद गर्न सकिने कम्पनीले बनाएको छ । वार्षिक न्युनतम १ हजार ६ सय रुपैयाँ र अधिकतम ३ हजार रुपैयाँ मात्रै बीमाशुल्क तिरेर बीमालेख खरिद गर्न सकिने छ ।
यदि तपाईंले ७ लाख रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना बीमा, १ लाख रुपैयाँ बराबरको औषध उपचार बीमा र एक लाख रुपैयाँ बराबरको गम्भिर प्रकारका रोगको बीमा गर्नुभयो भने एक वर्षमा जम्मा एक हजार ६ सय रुपैयाँ मात्रै तिरे पुग्छ भने १० लाख रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना बीमा, २ लाख रुपैयाँ बराबरको औषध उपचार बीमा र २ लाख रुपैयाँ बराबरको गम्भिर प्रकारका रोगको बीमा गर्नुभयो भने एक वर्षमा ३ हजार रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
सबै बीमालेखको दाबी भुक्तानी प्रक्रिया जटिल र लम्बेतान भइरहेको बेला सगरमाथा आरोग्य स्वास्थ्य बीमाको दाबी प्रकृया सजिलो रहेको दाबी कम्पनीको छ । बीमितले आवश्यक कागजातसहित दाबी गरेको १० दिनमै बीमा दावी भुक्तानी हुने बताइएको छ ।
आरोग्य स्वास्थ्य बीमा योजनाको शुभारम्भ नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा समितिका अध्यक्ष सिलवाल सहित कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु पुजन ढुङ्गेल, शुशिलदेव सुवेदी, दिनेशलाल कर्ण लगायतको उपस्थिति रहेको थियो ।