काठमाडौं । मुलुककै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका सन्तोष प्रसाईले नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएका छन् ।
समितिले उनलाई चैत ११ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो । गत माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो ।
करिब डेढ महिनापछि बीमा समितिले कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई स्वीकृत गरेको हो । सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाई लिने सञ्चालक समितिको विश्वास रहेको छ ।
विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए ।