काठमाडौं । सानिमा लाइफको आईपिओमा २४ लाख १९ हजार १२७ को आवेदन परेकोमा १८ लाख ७९ हजार १२४ जना हात खाली हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयरमा माग भन्दा निकै गुणा बढी आवेदन परेको छ । जसका कारण झण्डै १९ लाख जनाको हात खाली हुने भएको हो ।
सानिमा लाइफको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज साँझसम्म कूल २४ लाख १९ हजार १२७ जनाको आवेदन परेको छ । सो तथ्याङ्कमा भोलिसम्म बैंकबाट थप भई आउने संख्या अझै बढ्ने छ । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको चौथो दिन अपरान्ह ५ः०० बजेसम्म २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता शेयरको लागि आवेदन परेको छ ।