free website hit counter

सिभिलका कर्मचारी अझै अन्यौलता

beemaadmin
२०७९ फाल्गुन ७, आईतवार

काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी आउँदो साताभित्र एकीकृत कारोबारको सुरुआत गर्दैछ। आगामी फागुन १२ गते हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। नेपाल राष्ट्र बैंकले पनि सिभिललाई प्राप्ति गरेर हिमालयन बैंकको नाममा कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ। एकीकृत कारोबारको मिति तोकिसकेको अवस्थामा पनि अहिलेसम्म सिभिल बैंकका अधिकांश कर्मचारी समायोजनमा भने अन्यौलता देखिएको छ। सिभिलमा कार्यरत अधिंकाश कर्मचारी आफूहरुलाई अहिलेसम्म कहाँ समायोजन गरिन्छ भन्ने पनि जानकारी नभएको बताउँछन्।
सिभिल बैंकका एक कर्मचारी हिमालयन बैंकमा गाभिएपछि आफू कुन विभागमा पुगिन्छ भन्ने नै थाहा नभएको बताउँछन्। एक त हिमालयन र सिभिलको केही विभागको नाम नै फरक छ, ती कर्मचारीले भने, त्यसमै अन्यौलता छ, अर्को भनेको हामी कतिपय कर्मचारीलाई एकीकृत कारोबारपछि कहाँको जिम्मेवारी दिने भन्ने कुनै जानकारी आएको छैन, त्यसैले अहिलेको अवस्थामा धेरैलाई कन्फ्युजन छ। सायद एकीकृत कारोबारपछि हिमालयन बैंक नै जिम्मेवारी तोक्नसक्ने ती कर्मचारीको भनाइ छ। अहिले नै कुन शाखा अथवा कहाँ जाने कुल जिम्मेवारी सम्हाल्ने भनेर केही जानकारी आएको भए सजिलो हुन्थ्यो होला, ती कर्मचारीले भने, तर, अब एकीकृत कारोबारपछि नै हामी कतिपयलाई सम्बन्धित जिम्मेवारी दिइन्छ होला।
केही दिनअघि आफूहरुलाई हिमालयनमा एक तह घटुवा गरी समायोजन लागिएको भन्दै सिभिलका कर्मचारीले पेनडाउन नै गरेका थिए। उनीहरुले सिभिलमा जुन तह छ सोही तह हिमालयनमा पनि कायम हुनुपर्ने माग गरेका थिए। अहिले उक्त समस्या भने समाधान भइसकेको सिभिलका कर्मचारीहरु बताउँछन्। ‘बैंकबाट समस्या समाधान भएको मेल आएको छ’, अर्का एक कर्मचारीले भने। हिमालयनसँग गाभिएपछि सिभिल बैंकले स्वेच्छिक अवकाश सुविधा ल्याएको थियो। जसबाट सिभिलका सीईओ सुनिलकुमार पोखरेलसहित अन्य केही कर्मचारीहरु बाहिरिँदैछन्।
सीईओ पोखरेललाई हिमालयनमा वरिष्ठ डेपुटी सीईओको जिम्मेवारी दिने सहमति भएको थियो। तर, त्यसअघि नै पोखरेल भीआरएस सुविधाबाट बाहिरिन लागेका हुन्। एकीकृत कारोबार नहुँदासम्म उनी सिभिलकै सीईओको जिम्मेवारीमा रहनेछन्। हिमालयन र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। मर्जरपछि बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ भने बैंकको सीईओमा पनि हिमालयन बैंककै अशोक राणा रहनेछन्।

सम्बन्धित समाचार