काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सबै सूचांकमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले सो अवधिमा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८२.५४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब ८६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट ६१ करोड ५९ लाख रुपैयाँ र बीमालेख धितोबाट ७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा इन्स्योरेन्सले बीमांकिय मुल्यांकन अघि २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५५.८८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८० करोड ८५ हजार रुपैयाँ, जीवन बीमा कोषमा १० अर्ब १ करोड ३८ लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड २९ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ लाख ३२ हजार ६०४ वटा बीमालेख जारी गरी ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।