काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले लगानी विभागका दुई कर्मचारीलाई निलम्बन गरेको छ । कानुनी व्यवस्था विपरित लगानी गरेको र कम्पनीलाई जोखिममा पारेको बीमा समितिको रिपोर्टका आधारमा कम्पनीले आफ्ना दुई कर्मचारी निलम्बन गरेको हो । कम्पनीले लगानी विभाग प्रमुख तथा सहायक महाप्रवन्धक निल बराली र अधिकृत रंग साउदलाई निलम्बन गरेको एक सञ्चालकले बताए । उनीहरुलाई ३० दिनका लागि निलम्बन गरिएको उनले जानकारी दिए । कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले भने यस विषयमा अनविज्ञता प्रकट गरे । कम्पनीको स्थलगत निरिक्षणपछि उनीहरुलाई कारवाही गर्न बीमा समितिले गत बैशाख पहिलो साता लिखित निर्देशन दिएको थियो । सेयरमा अन्धधुन्ध लगानी गरेको भन्दै बीमा समितिले कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवाललाई पनि निलम्बन गरेको थियो । निलम्बन गरेको दुई महिनापछि उनलाई बीमा समितिले सफाइ दिएको छ । तर अग्रवालले असार ३१ गते सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका छन् । उनको ठाउँमा मिता मुरारका अग्रवाल नियुक्त भएका छन् ।