काठमाडौं । संकटका बेला सबैले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन् । अहिले विश्व समुदाय कोरोनासँगको युद्धमा छ । त्यो युद्धको अग्र मोर्चामा स्वास्थ्यकर्मी छन् । उनीहरुको सम्मानमा कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क टिकट उपलव्ध गराउने घोषणा गरेको छ ।एयरवेजको होलिडे प्याकेज अन्तर्गत ल्याइएको यो योजना दोहा समयअनुसार मे १२ बाट सुरु भइसकेको छ । होलिडे प्याकेजका लागि ६ दिनभित्र बुकिङ गरिसक्नुपर्नेछ । सो योजनामा एक स्वास्थ्यकर्मीसँग अर्को १ सदस्य पनि रहन पाउने जनाइएको छ । निःशुल्क टिकट प्राप्त स्वास्थ्यकर्मीहरुले कतार एयरले उडान भर्ने विश्वका जुनसुकै मुलुकहरुमा पनि जान पाउने छन् । डाक्टर, नर्स, ल्याब टेक्निसियन लगायतका स्वास्थ्यकर्मीहरुका लागि ल्याइएको यो योजना डिसेम्बर २२ सम्म लागू हुने जनाइएको छ । कतार एयरवेजले कोभिड–१९ ले परेको असरलाई न्युनिकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई हौसला दिन यो योजना अघि सारिएको जनाएको छ ।