free website hit counter

हकप्रद ल्याउने तयारीमा १० बीमा कम्पनी

beemaadmin
२०८१ असार १०, आईतवार

काठमाण्डौ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्न बाटो खुलेको छ । लामो समयदेखि नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्कासन प्रक्रिया खुलेको हो । बोर्डले एक कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेपछि अब बाँकी कम्पनीलाई समेत धितोपत्र निष्कासन गर्ने बाटो खुलेको हो । विगत ६ महिनायता धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा विभिन्न कम्पनीहरुको धितोपत्र निष्कासन गर्ने बाटो खुलेको थिएन । बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ, राइट सेयर जस्ता धितोपत्र जारी गर्न अनुमति दिएको थिएन । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अझै लम्बिन सक्ने संकेत देखिएपछि बोर्डको सञ्चालक समितिको बैठकले सेयर निष्कासन अनुमति दिने निर्णय गरेको हो । बोर्डको निर्णयअनुसार अब कैफियत नदेखिएका आईपीओ, एफपीओ र हकप्रद सेयरलाई निष्कासन अनुमति दिन अख्तियारी प्रदान गरिनेछ । योसँगै बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुको धितोपत्र निष्कासनको बाटो क्रमशः खुल्नेछ । हाल चारवटा बीमा कम्पनी हकप्रद निष्कासनका लागि सेबोनको पाइपलाइनमा छन् । बोर्डमा अध्यक्ष नियुक्ति हुन नसक्दा कतिपय बीमा कम्पनीहरुले निवेदन समेत पेश गर्न पाएका छैनन् । अब अन्य कम्पनीको धितोपत्र निष्कासनको बाटो खुलेपछि साधारण सभाबाट हकप्रद जारी गर्ने प्रस्ताप पारित गरेका बीमा कम्पनीहरुले समेत धितोपत्र बोर्डसँग अनुमतिका लागि निवेदन पेश गर्नेछन् । बीमा कम्पनीहरुले बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्तापुँजी बढाउने प्रयोजनका लागि हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएपनि बोर्डमा अध्यक्ष नहुँदा चुक्तापुँजी बृद्धि गर्ने प्रक्रिया नै रोकिएको थियो । सेबोनको बोर्ड बैठकले धितोपत्र निष्कासनको लागि अनुमति दिएसँगै अब बीमा कम्पनीहरुको पनि चुक्तापुँजी बढाउने प्रक्रिया अघि बढ्नेछ ।

चुक्तापुँजी बढाउनका लागि हकप्रदको बाटो रोजेपनि ६ वटा बीमा कम्पनीले भने सेबोनमा निवेदन पेश गर्न बाँकी नै छ । एशियन लाइफ इन्स्योरेन्सले साधारण सभामार्फत हकप्रदको प्रस्ताव पारित गरेपनि बोर्डमा निवेदन पेश गर्न बाँकी छ । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको सन नेपाल लाइफले पनि प्राधिकरणले तोकेको न्यूनतम पूँजी पुर्याउन हकप्रदको बाटो राजेको छ । साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई बनेको सानिमा जिआइसी इन्स्योरेन्सको पनि प्राधिकरणले तोेकेको पूँजी पुगेको छैन । कम्पनीले पूँजी बढाउन हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । नेपाल इन्स्योरेन्सले पनि पूँजी बढाउन हकप्रद जारी गर्ने निर्णय गरेको छ । कम्पनीले कायम चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँ को ४० प्रतिशत अर्थात १०ः४० अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्सले पनि चुक्तापुँजी बृद्धिकै लागि हकप्रदको बाटो रोजेको छ । बीमा प्राधिकरणको निर्देशन बमोजिम चालु आवको अन्त्यसम्म न्यूनतम चुक्तापुँजी पुरा गर्न आवश्यक सबै प्रक्रियाहरु सम्पन्न गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले हकप्रद जारी गर्न प्राधिकरणसँग अनुमति मागेको छ । पूँजी वृद्धिको योजना दुई पुनर्बीमा कम्पनीलाई पेश गर्न निर्देशन दिएपश्चात् हिमालयन रि इन्स्योरेन्सले भने बोनस सेयर बाँडेर हकप्रद निष्कासन गर्ने योजना पेश गरेको छ । पुनर्बीमातर्फ हिमालयन रि इन्स्योरेन्सले गत आवको मुनाफाबाट ४ प्रतिशत दरको ४० करोड रुपैयाँ बराबरको बोनस वितरणपछि हकप्रद जारी गर्ने योजना बनाएको छ । बोनसपश्चात् कायम हुन आउने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँबाट कम्पनीले १ः०.८० अनुपात अर्थात ८० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।

चार बीमा कम्पनी पाइपलाइनमा
चुक्तापुँजी बढाउनकै लागि हकप्रद निष्कासन गर्न अनुमति माग्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, एनएलजी इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्स बोर्डको पाइपलाइनमा छन् । जसमध्ये एलआइसी नेपालले २०८० असोज २९ गते बोर्डसँग अनुमति मागेको थियो । करिब एक वर्षसम्म पनि बोर्डबाट हकप्रद जारी गर्न अनुमति नपाएपछि कम्पनीको पुँजी बृद्धिको प्रक्रिया अघि बढ्न सकेको छैन । कम्पनीले कायम चुक्तापुँजीको ८८ प्रतिशत अर्थात् १ः०।८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हकप्रद जारी गर्न अनुमति पाएपछि कम्पनीको चुक्तापुँँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि चुक्तापूँजी बृद्धि गर्नकै लागि हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको हो । कम्पनीले कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद जारी बोर्डमा निवेदन दिइसकेको छ । हकप्रद जारीपश्चात् कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हालको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १०ः६.६ अनुपातमा ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद जारी गर्न २०८० कात्तिक २ गते बोर्डसँग अनुमति मागेको हो । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी २ अर्ब ४२ करोड २३ रुपैयाँ पुग्नेछ । कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन अझै ७ करोड ८८ लाख रुपैयाँ अपुग हुन्छ । त्यस्तै, नेको इन्स्योरेन्सले पनि कायम चुक्तापूँजीको २५ प्रतिशत अर्थात ५० करोड ३० लाख रुपैयाँबराबरको ५० लाख कित्ता हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डमा २०८० चैत ६ गते निवेदन पेश गरिसकेको छ । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ ।

 

सम्बन्धित समाचार