काठमाडौं । भर्खरै कसैको हात खाली नगराई आइपिओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा भने घटेको छ । बैंकले साढे १२ प्रतिशतले नाफा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेर ३५ करोड २२ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ४० करोड २७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सञ्चालन नाफा पनि १२.३१ प्रतिशतले घटेर ५० करोड ३५ लाख ७६ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष बैंकले ५७ करोड ४३ लाख २० हजार रुपैयाँ कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले नाफा खुम्चिएको हो ।
खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ६१ करोड ७१ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी पनि ८४ पैसाले घटेर ५ रुपैयाँ ८७ पैसा कायम भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७१ पैसा थियो । पुस मसान्तसम्म १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले भर्खरै आइपीओ जारी गरेको हो । आइपीओ जारी पछि पुँजी २० अर्ब रुपैयाँ पुगेको छ ।