काठमाडौं । विश्व महामारी कोरोनाले पर्यटन तथा होटल व्यवसाय थला परेपछि ६ महिनासम्म होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति सरकारले असहमति जनाएपछि होटल संघ नेपाल (हान) ले होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउने चेतावनी दिएको छ । आइतबार हानले ६ महिना होटल व्यवसाय बन्द गरी श्रमिकहरुलाई १२ प्रतिशत तलब दिने र त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णय गरेको थियो । हानको उक्त निर्णयप्रति असहमित जनाउँदै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हानसँग सोमबार छलफल गरेको थियो । छलफलमा हानका पदाधिकारीहरुले व्यवसायी र श्रमिक दुबै पक्षका कुराहरु सम्बोधन नभए भयावह अवस्था सिर्जना हुने चेतावनी दिएका छन् । विश्वका धेरै होटल र पर्यटन व्यवसाय बन्द हुँदा कर्मचारी कटौती गरिरहे पनि नेपालमा त्यो अवस्था सिर्जना हुन नदिन उचित निर्णय हुनुपर्ने हानले बताएको छ ।