काठमाण्डौ । कोरोना संक्रमणको आतंक विश्वव्यापी बनिरहँदा नेपालमा सचेतनाका सबै प्रयास भइरहेका छन् । सरकारले ६६ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ भने सबैजसो सीमानाका बन्द गरिएको छ । शैक्षिक संस्था बन्द छन्, स्कुल कलेजका परीक्षा पनि एकाएक रोकिएका छन् । यतिबेला काठमाण्डौ छाड्नेको सङ्ख्या बढेको छ । गएको २४ घण्टामा काठमाण्डौका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो सङ्ख्या गएको बुधबारको भन्दा १३ हजार दुई सय ११ ले बढी हो । यस्तै काठमाण्डौ भित्रनेको सङ्ख्या भने घटेको छ । गएको २४ घण्टामा ८३ हजार एक सय ३९ जना काठमाण्डौ आएका छन् । यो बुधबारको भन्दा १५ हजार सात सय ९५ जना कम रहेको ट्राफिक प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण काठमाण्डौ उपत्यका छाड्नेको संख्या बढेको हो । दशै, तिहार र २०७२ सालको भूकम्पपछि पनि काठमाण्डनै छाड्नेको सङ्ख्या यसैगरी बढेको थियो । सरकारले पनि अबको एक महिना रुट इजाजत बिना पनि गाडी चलाउन पाइने व्यवस्था गरेको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै आउँदो बिहिबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ दर्ता र वर्ग थप गर्ने काम अनिश्चितकालको लागि रोकिएको छ । यस्तै लामो तथा छोटो दुरीका गाडीमा सिट क्षमताभन्दा एक जना पनि बढी यात्रु नराख्न र सिट खाली नभए गाडीमा नचढ्न र यात्रा गर्दा अनिवार्य मास्क लगाउन यात्रुलाई अनुरोध गरेको छ ।