free website hit counter

नेपालको ट्रेडमार्क प्रणालीमा सुधारका पक्षहरु

beemaadmin
२०७६ भाद्र १८, बुधबार

१. ट्रेडमार्कको परिचयः

ट्रेडमार्क भन्नाले व्यवसायिक उत्पादनका उत्पादकहरुले आफ्नो उत्पादनलाई अन्य उत्पादकका उत्पादनहरुबाट भिन्न देखाउनका लागि प्रयोग गर्ने मौलिक र भिन्न चिन्ह वा सूचकलाई जनाउँदछ । ट्रेडमार्कले वस्तु वा सेवाको स्रोतका सम्बन्धमा ग्राहकहरुमा सूचना सम्प्रेषित गर्दछ । यसले वस्तुको पहिचान गर्न मद्दत गर्ने भएकोले विभिन्न स्रोतबाट प्राप्त वस्तुहरुवीच भिन्नता कायम गरी वस्तुहरुवीच प्रतिस्पर्धी सम्बन्ध स्थापित गर्दछ । यदि ट्रेडमार्कलाई वस्तुको सट्टा सेवाको सन्दर्भमा प्रयोग गरिएको भएमा त्यसलाई सर्भिस मार्क वा सेवा चिन्ह पनि भन्ने गरिएको पाइन्छ । ट्रेडमार्क नाम, शव्द, वाक्यांश, संकेत, चित्र, तस्वीर, रंग वा उक्त कुराहरुको संयोजन समेत हुनसक्दछ । ट्रेडमार्क अन्तर्गत कुनै ब्राण्ड, लेबल, नाम, दस्तखत, शव्द, अक्षर, अंक, वस्तुको आकार, प्याकेजिङ समेत पर्न सक्दछन् । कतिपय मुलुकहरुमा, पछिल्लो समयमा विज्ञापनका नाराहरु, लेबलहरु, त्रिआयामिक चिन्हहरु, चाल वा तिनको संयोजन तथा वास्ना र आवाज जस्ता अनुभूतिजन्य संकेतहरुलाई पनि ट्रेडमार्कको रुपमा दर्ता र संरक्षण गरिएको पाइन्छ । तर प्रायः मुलुकहरुले स्पष्टसंग देख्न र बुझ्न सकिने चित्रहरु र चिन्हहरुलाई ट्रेडमार्कको रुपमा स्थानीय कानूनमा व्यवस्था गरी दर्ता र संरक्षण गर्ने गरेको पाइन्छ । ट्रेडमार्कको लागि दर्ता भै संरक्षण प्राप्त गर्नका लागि यसलाई सांकेतिक रुपमा अभिव्यक्त (Graphical Representation) गर्न सकिने हुनुपर्दछ । विशिष्टीकृत ट्रेडमार्कहरुमा प्रमाणीकरण चिन्ह, समूह चिन्ह आदि पर्दछन । विभिन्न प्रकारका ट्रेडमार्कलाई विभिन्न संकेतहरुबाट व्यक्त गरिएको पाइन्छ । जस्तै, TM ट्रेडमार्कको रुपमा प्रयोग गरिएको संकेत तर आधिकारिक निकायबाट दर्ता भैनसकेको, SM सेवाका लागि प्रयोग गरिने ट्रेडमार्क (सर्भिस मार्क वा सेवा चिन्ह पनि भन्ने गरिएको), ® – दर्ता भएको ट्रेडमार्क ।

 

विश्वका प्रायः सबै मुलुकहरुमा ट्रेडमार्क दर्ता र संरक्षण गर्ने गरिन्छ र कतिपय मुलुकहरुको कानूनमा दर्ता नभएका ट्रेडमार्कले पनि संरक्षण प्राप्त गर्ने व्यवस्था रहेको पाइन्छ । ट्रेडमार्क जसको नाममा दर्ता भएको छ, सो व्यक्तिलाई ट्रेडमार्कको धनी भनिन्छ र सोको प्रयोगका लागि निजलाई एकलौटी अधिकार हुन्छ । धनीको स्वीकृति विना अन्य कसैले सोको प्रयोग गरेमा निजको हक हनन् भएको मानिन्छ र धनीले ट्रेडमार्क कानूनको उल्लंघन भएको आधारमा कानूनी उपचार प्राप्त गर्न सक्दछ । विशिष्टीकृत ट्रेडमार्कहरुमा प्रमाणीकरण चिन्ह, समूह चिन्ह, समेत पर्दछन । ट्रेडमार्कको प्रयोगबाट उपभोक्तहरुलाई वस्तुको पहिचान गर्न सजिलो हुने, उत्पादक कम्पनीहरुलाई आफूले उत्पादन गरेका वस्तु छुट्याउन सजिलो हुने, उत्पादक कम्पनीको ख्याति, छविमा विस्तार हुने, अरुलाई प्रयोग गर्न अनुमति दिई रोयल्टी प्राप्त गर्न सकिने तथा उत्पादनको गुणस्तर कायम राख्न र बृद्धि गर्न पनि मद्दत गर्छ ।

 

२. ट्रेडमार्कको इतिहासः

मानव समुदायले प्राचीन समयदेखि नै सम्पत्तिको धनीको रुपमा तथा उत्पादकको रुपमा स्वामित्वको पहिचानका लागि चिन्हको उपयोग गर्दै आएको पाइन्छ । आदिमकाल देखि नै घरपालुवा जनावरहरुको स्वामित्वको पहिचानका लागि जनावरहरुको शरीरमा चिन्ह वा रंग अंकित गर्दै आएको पाइन्छ भने पछि गएर वस्तु उत्पादकको पहिचान स्थापित गर्न र उनीहरुको कामको गुणस्तर पहिचान गर्नका लागि विभिन्न चिन्हहरुको उपयोग गर्ने गरिएको पाइन्छ । वस्तु व्यापारको प्रचलन संगै ट्रेडमार्कको इतिहास पनि शुरु भएको मानिन्छ । प्राचीन ग्रीक र रोमन साम्राज्यमा माटाका भाँडा, ईटा र तरवारहरुमा उत्पादकको पहिचानका लागि छाप वा नाम उल्लेख गर्ने गरेको पाइन्छ । कालान्तरमा पहिचान र पृथकताका विभिन्न तरीकाहरु विकसित हुँदै गए जसले गर्दा उत्पादनहरुमा नाम वा चिन्हको रुपमा स्वामित्व जनाउने संकेतहरु उल्लेख गरी सो उत्पादनमाथिको स्वामित्व सजिलै पत्ता लगाउन सकिने भयो । यस्ता चिन्हहरुले वस्तुको पहिचान गर्न मद्दत गरेको भएतापनि तिनले बौद्धिक सम्पत्ति अधिकारमा आधारित ट्रेडमार्क प्रणालीको विकास गरेको नभएकोले यसलाई आधुनिक ट्रेडमार्कको परिभाषा अन्तर्गत राख्न भने सकिंदैन ।

 

दशौं शताव्दीको सेरोफेरोमा व्यापारीको चिन्ह (Merchant’s Mark)  भनिने चिन्हको प्रचलन शुरु भयो र व्यापारी, व्यवसायीहरुवीच यस्ता चिन्हको प्रयोगमा बृद्धि भयो । स्वामित्व जनाउने यस्ता चिन्हहरु प्रायः समुद्रमा पानीजहाजको दुर्घटना, डकैती आदिबाट गुमेका वस्तुको स्वामित्व पहिचानका लागि उपयोग गरिन्थ्यो । मध्ययुगमा समूह (गिल्ड) मा सामान बनाउने व्यक्ति र व्यवसायीहरुले आफ्नो सामानलाई न्यून गुणस्तरको वस्तुभन्दा पृथक जनाउनका लागि आफ्ना समूहको वस्तुमा चिन्ह अंकित गरेको पाइन्छ । उत्पादन चिन्ह (Production Mark) भनिने यस्ता चिन्हहरुको दुरुपयोग गरी न्यून गुणस्तरको वस्तु उत्पादन गर्ने व्यक्तिलाई दण्डित गर्न र उत्पादन प्रक्रियामाथि समूहको एकाधिकार कायम राख्न यस्ता चिन्हको उपयोग हुने गरेको पाइन्छ । यस्ता चिन्हहरु उत्पादकको आफ्नो स्वेच्छाले भन्दा पनि उत्पादनमा अनिवार्य रुपमा अंकित गर्नुपर्ने भएकोले पोलिस चिन्ह (Police Marks) वा उत्तरदायित्व चिन्ह (Responsibility Marks) का रुपमा परिचित भएका पाइन्छ । यस्ता चिन्हबाट वस्तुको स्रोत र गुणस्तरको जानकारी प्राप्त हुन्थ्यो । आधुनिक व्यवस्थामा ट्रेडमार्कले कुनै खास वस्तुको गुणस्तरप्रति विश्वस्त गराउँदछ भने, पोलिस वा उत्तरदायित्व चिन्हहरुले कम गुणस्तरका वस्तुहरु छुट्याउने कार्य मात्र गर्दथे । यस्ता उत्तरदायित्व चिन्हहरु समूहका लागि लागू हुने भएकाले एकपटक निर्धारण भैसकेपछि सामान्यतया सजिलै परिवर्तन गर्न पनि सकिंदैनथ्यो र यस्ता चिन्हले आधुनिक ट्रेडमार्कले जस्तो धनीको हितका लागि कार्य गर्ने नभै समूहको हितका लागि कार्य गर्ने गर्दथ्यो ।

 

मध्ययुगबाट हालको पूँजीवादी अर्थव्यवस्थासम्म आइपुग्दा समूह (गिल्ड) प्रणाली छिन्नभिन्न भयो र औद्योगिक विकाससंगै स्वतन्त्र व्यवसायहरु स्थापित हुन थाले । चिन्हहरुलाई समूहको अनिवार्य सदस्यता भन्दापनि वस्तुको उत्पादनको स्रोत पहिचान गर्नमा उपयोग गर्न थालियो र समयक्रमसंगै ट्रेडमार्क संरक्षणका लागि ट्रेडमार्क कानून, उपभोक्ता संरक्षण जस्ता विशेष फौजदारी कानूनहरुको विकास पनि भयो । साथै अनुमति विना चिन्ह प्रयोग गर्ने कार्य (Infringement) का विरुद्ध देवानी उपचारको पनि विकास भयो ।

 

अन्तर्राष्ट्रिय रुपमा पहिलोपटक फ्रान्समा २० अप्रिल सन् १८०३ को Factory, Manufacture and Workplace Act को दफा १६ ले अरुको छापलाई आफ्नो भनि प्रयोग गर्ने कार्यलाई अपराधको रुपमा परिभाषित गरेको थियो । तत्पश्चात सन् १८१० को Criminal Act को Article 142 र सन् १८२४ को सो ऐनको Article 433 ले अरुको व्यापारिक नाम दुरुपयोग गर्ने कार्यलाई दण्डनीय अपराधको रुपमा लिएको थियो । यद्यपी उक्त प्रणाली पनि हालको ट्रेडमार्क कानूनजस्तो विकसित भने थिएन । २३ जुन सन् १८५७ मा फ्रान्समा Manufacture and Goods Mark Act को माध्यमबाट विश्वकै पहिलो र विस्तृत रुपको ट्रेडमार्क ट्रेडमार्क प्रणाली स्थापित भयो । यसमा ट्रेडमार्क दर्ता गर्ने र प्रयोगको आधारमा समेत ट्रेडमार्कलाई संरक्षण प्रदान गर्ने व्यवस्था थियो । यस कानूनलाई सन् १८९० र सन् १९४४ मा संशोधन गरियो र सन् १९६४ मा नयाँ कानून लागू गरी यस ऐनलाई खारेज गरियो । नयाँ कानूनले प्रयोग नगर्ने ट्रेडमार्क खारेज गर्ने व्यवस्था ग¥यो । हाल फ्रान्समा सन् १९९१ को ट्रेडमार्क कानून प्रचलनमा छ, जसमा सुविख्यात (Famous) चिन्ह, त्रिआयामिक चिन्ह, आवाज चिन्ह आदिलाई समेत संरक्षण गर्ने व्यवस्था रहेको छ ।

 

बेलायतमा सन् १८६२ को Merchandise Marks Act लाई पहिलो ट्रेडमार्क कानूनको रुपमा लिइन्छ । यसपछि सन् १८७५ मा Trademark Registration Act पारित भयो र सन् १९०५ मा नयाँ ट्रेडमार्क कानून लागू भयो जसलाई सन् १९१९ र १९३७ मा संशोधन गरियो । तत्पश्चात सन् १९३८ मा नयाँ कानून लागू भयो । यस कानूनले ट्रेडमार्कको परीक्षण, दर्ता र प्रकाशनको व्यवस्था गरेको थियो । यस कानूनमा ट्रेडमार्क प्रयोग गर्न अनुमति दिने प्रावधान पनि थियो । बेलायतमा १ अक्टोबर सन् १९८६ मा सेवा चिन्ह दर्ता गर्ने व्यवस्था पनि लागू भयो । सन् १९९५ सम्म बेलायत, अमेरिका, जर्मनी, फ्रान्स र जापान ९न्छ समूहका मुलुक) सबैले सेवा चिन्ह दर्ता गर्ने व्यवस्था लागू गरिसकेका थिए । हाल प्रायः सबै औद्योगिक मुलुकहरुमा सेवा चिन्ह दर्ता गर्ने व्यवस्था भएको पाइन्छ ।

 

जर्मनीमा पहिलो ट्रेडमार्क कानूनको रुपमा The Trademark Protection Law 30 नोभेम्बर सन् १८७४ मा लागू भयो । सो कानूनमा ट्रेडमार्कको परीक्षण विना नै दर्ता गरिने व्यवस्था थियो । १२ मे सन् १८९४ को Trademark Protection Law ले परीक्षणमा आधारित दर्ता प्रणाली लागू ग¥यो । सो कानूनमा सन् १९३६ मा भएको संशोधनले ट्रेडमार्क कानूनलाई आधुनिकीकरण गरेता पनि आवेदनको प्रकाशन गर्ने व्यवस्था भने गरेको थिएन । साथसाथै पूर्व दर्तावालाले विरोध नगरेको अवस्थामा ट्रेडमार्क दर्ता गरिने व्यवस्था थियो । सन् १९५७ मा ट्रेडमार्क प्रकाशनको व्यवस्था गरियो । सन् १९६७ देखि प्रयोगको आधारमा पनि ट्रेडमार्क संरक्षण गरिने व्यवस्था लागू भयो, साथसाथै प्रयोगमा नआएका ट्रेडमार्कहरु खारेज गर्ने व्यवस्था लागू गरियो । ट्रेडमार्क कानूनमा सन् १९७९ मा भएको संशोधनबाट सेवा चिन्ह दर्ता गर्ने प्रावधान लागू भयो । सन् १९९० अक्टोबर ३ मा जर्मनीको एकीकरण पश्चात Industrial Property Right Expansion Law मे १, सन् १९९२ मा लागू भयो जुन हालसम्म कार्यान्वयनमा रहेको छ ।

 

अमेरिकामा ट्रेडमार्क संरक्षणका लागि पहिलो कानूनका रुपमा ८ जुलाई सन् १८७० को Federal Trademark Act लागू गरियो । तर यस कानूनलाई अमेरिकी संविधानमा रहेको पेटेण्ट सम्बन्धी प्रावधानसंग बाझिएको भनि अमेरिकी सर्वोच्च अदालतले व्याख्या गरिदिएकोले यसलाई खारेज गरी मार्च ३ सन् १८८१ मा नयाँ ट्रेडमार्क कानून लागू गरियो । यसलाई सन् १९०५ मा व्यापक संशोधन गरियो र पछिका वर्षहरुमा पनि यसमा निरन्तर संशोधनहरु भए । सन् १९४६ मा Lanham Act लागू गरी अमेरिकी ट्रेडमार्क कानूनमा समयसापेक्ष सुधार गरियो । सो कानूनले प्रयोगमा आधारित संरक्षणको सिद्धान्तलाई मान्यता दिएको थियो । सो कानूनमा चिन्ह प्रयोगको आशयलाई भन्दा पनि यसको वास्तविक प्रयोगलाई दर्ताको लागि प्रमुख विषयको रुपमा लिइएको थियो । सो ऐनमा १६ नोभेम्बर १९८८ मा संशोधन गरियो । Lanham Act ले चिन्हहरुको दर्तापूर्व परीक्षण र प्रकाशन गर्ने प्रणाली अवलम्बन गरेको छ । यसका साथै सेवा चिन्ह दर्ता गर्ने व्यवस्था पनि गरेको छ । अमेरिकी ट्रेडमार्क संघीय कानूनको अलावा प्रान्तीय कानूनहरुबाट पनि संरक्षित हुने भएकोले अन्य मुलुकका ट्रेडमार्क कानूनभन्दा यो केही फरक रहेको छ ।

क्रमशः…..

(लेखक : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव हुनुहुन्छ)

सम्बन्धित समाचार

आइएमई लाइफले तोक्यो साधारण सभाको मिति

beemaadmin
२०८१ जेष्ठ ४, शुक्रबार

जोखिम न्युनिकरणका फाइदा

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

क्रेष्ट माइक्रो लाइफले आइपीओ जारी गर्ने

beemaadmin
२०८१ बैशाख २०, बिहीबार