काठमाडौं । लठ्याउने औषधि खुवाएर भक्तपुरमा १७ वर्षीया किशोरीमाथि बसमा सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् । रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा ३ ख २६१२ नम्बरको बसमा ३ जनाले सामूहिक बलात्कार गरेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी राजेश थापाले बताए । बलात्कारमा संलग्न दुई जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ घर भएका सुर्य श्रेष्ठ छन् । बलात्कारमा संलग्न अर्का एकजना आरोपी फरार छन् । घटनास्थलको रुपमा प्रयोग भएको बस नियन्त्रणमा लिइएको डिएसपी थापाले रातोपाटीलाई बताए । बलात्कारमा संलग्न आरोपी सो गाडीका स्टाफ हुन् । आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । ‘लठ्याउने औषधी खुवाएर’ आफुमाथि बलात्कार गरिएको किशोरीले प्रहरीसँग बताएकी छिन् । शनिवार साँझ ४ देखि ५ बजेसम्म बलात्कारको शिकार भएकी किशोरी त्यहँबाट फुत्केर प्रहरीकहाँ पुगेकी थिईन् ।