free website hit counter

अमेरिकामा लुटेराको गोली लागेर नेपाली गम्भीर घाइते, गाेलीले मृगाैला छेड्याे

beemaadmin
२०७७ आश्विन २४, शनिबार

न्यूयोर्क । रोजीरोटीको खोजीमा अमेरिका पुगेका एक युवा लुटेराको गोली लागेर घाइते भएका छन् । अमेरिकाको टेक्सास राज्यको अष्टिन भन्ने शहरमा एउटा लुटेरा समूहले गोली प्रहार गर्दा ड्युटीमा रहेका एकजना नेपाली युवा गम्भीर घाइते भएका छन्। अक्टोवर ७ तारिक बुधबार रातिको समयमा ड्युटी गरिरहेका उनलाई उनी कार्यरत ग्यास स्टेशन तथा खुद्रा पसलमा गोली प्रहार भएको हो ।

लुटेराको प्रहारबाट सो पसलमा कार्यरत उमेश न्यौपाने गम्भीर घाइते भएका छन् । अमेरिकामा इन्धन बेच्ने पसलहरुमा अन्य आवश्यक पर्ने खुद्रा सामानहरु र फास्टफुडसम्म बेच्ने गरिन्छ । प्राप्त समाचारअनुसार, अष्टिन शहरको डाउन टाउनमा रहेको भारतीय व्यापारीको स्वामित्वमा रहेको ग्यास स्टेशनमा कार्यरत रहेकै बेला तीनजना अस्वेत व्यक्ति पसलभित्र आएको र तीमध्येको एकले बन्दुक देखाएको थियो ।

लुटेराले बन्दुक देखाएपछि दुबै हात माथि उठाई आत्मसमर्पणको संकेत दिएका न्यौपानेलाई लुटेराले गोली प्रहार गरेको थियो । घटना राति ११ बजेतिरको भएको बताइएको छ । न्यौपानेलाई गोली प्रहार गरी सो पसलबाट केही पनि नलुटी सो लुटेरा समूह भागेको सीसीटीभी फुटेजमा देखिएको स्थानीय प्रहरीले जानकारी दिएको थियो ।

गोली प्रहार गरी भागेको लुटेरा समूहले अष्टिनकै अरु दुईवटा स्टोरहरु लुटेको जानकारी प्रहरीले पाएको तर सो समूह हालसम्म पक्राऊ परिनसकेको बताइएको छ । लुटेराले प्रहार गरेको गोली ३५ बर्षका नेपाली युवा न्यौपानेको पेटबाट छिरेको र पेटभित्रका अंगहरुलाई ड्यामेज गरी बाहिरिएको थियो ।

उनको अत्यन्तै गम्भीर अवस्थामा बुधबार मध्यरातिदेखि स्थानीय अस्पतालको आईसीयूमा उपचार भइरहको अष्टिन नेपाली समाजका पूर्वअध्यक्ष एवं समाजसेवी देवराज न्यौपानेले बताएका छन् । उनका अनुसार, धाइतेको पेटको शल्यक्रिया गरिएको छ र गोलीले ड्यामेज गरिएका भागहरुलाई जोगाउने प्रयास गरिएको छ । उनको एउटा मृगौलामा गोली लागेको छ । उपचारका क्रममा शुक्रबार दिउंँसोदेखि उनको सामान्य होस् खुलेको छ र अस्पतालले उनको शल्यक्रिया सफल भएको बताएको छ ।

नेपालको सर्लाहीबाट अमेरिका आएका न्यौपानेका श्रीमती र एउटा बच्चासहित सपरिवार अष्टिनमै बस्दै आएका छन् । कोरोना माहामारीले बढेको बेरोजगारी तथा अमेरिकामा आसन्न चाडपर्वहरुका कारण लुटेराहरुको सक्रियता टेक्सासको अष्टिनलगायत कतिपय क्षेत्रमा बढ्न थालेको बताइएको छ । विशेषत चौबीसै घण्टा खुल्ने ग्यांस स्टेशनहरुमा अमेरिकाका धेरै ठाउंहरुमा लुटेराहरुबाट गोली प्रहारका घटनाहरु समय समयमा हुने गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार