काठमाडौँ । कोरोनाले विश्व आक्रान्त भइरहेको बेला कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध निवेदन परेको हो । अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले दर्ता गरेको निवेदनमा संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न माग गरिएको छ । लोकसेवा आयोगलाई विपक्षी बनाई दर्ता गरिएको निवेदनमाथि बिहीवार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ । लोकसेवा आयोगले कोरोना संक्रमणको जोखिमका कारण गत चैतमा रोकिएका विभिन्न तहका परीक्षाहरु सुरु गर्न सूचना निकालेको थियो । आगामी कार्तिक १८ गतेदेखि शाखा अधिकृत, नासुका लागि परीक्षा कार्यक्रम तोकिएर सूचना निस्किएको छ ।
त्यही व्यवस्थाका कारणले परीक्षार्थीको हक हनन हुने निवेदनमा दाबी गरिएको छ । संक्रमणका कारण परीक्षा दिन नपाउनेहरु अर्को वर्ष उमेरहदका कारण अवसरबाट वञ्चित हुनसक्ने भन्दै त्यस्तो मापदण्डले कतिपयलाई निकै क्षति हुने दाबी छ । निवेदनमा लोकसेवाको उक्त मापदण्ड खारेजका लागि तत्काल अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ । अधिवक्ताद्वयले कोही संक्रमित भएमा उनीहरुलाई छुट्टै परीक्षा केन्द्र तोकेर अनि सुरक्षाका उपाय अपनाएर जाँच दिने व्यवस्था मिलाउन आदेशको माग गरेका छन् ।